पाेर्चुगल- नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयाेजनामा पाेर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायकाे साँस्कृतिक पर्व साेनाम ल्हाेछार–२८६१ भव्यताका साथ मनाएकाे छ । आइतबार सम्पन्न कार्यक्रममा ल्हाेछारकाे अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
कार्यक्रममा म्हेन्दोमाया र सेलो गीतका विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रम प्र्तुत गरिएको थियाे । भरपूर मनाेरञ्जन दिनका लागि म्हेन्दोमाया गायिका रमाला पाख्रिन, सेलो गायक प्रदीप लामा, सेलो गायक तथा संगीतकार कुमार योन्जन सहित स्थानिय कलाकारहरुको सहभागीता थियाे ।
Republica Da Musica Lisbon मा सम्पन्न भएको साे कार्यक्रमका प्रमुख अतिथिमा युवा उद्यमी तथा समाजसेवी विजय माेक्तान रहेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि माेक्तानले संसारकाे जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए । साेनाम ल्हाेछारकाे सबैलाई शुभकामना दिँदै उनले धर्म, संस्कृति, परम्परा, मौलिक चाडबाडहरु हराएमा अस्तित्व र पहिचान समेत हराउने भएकोले सबैजना गम्भिर र जिम्मेवार हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा एनआरएनए पुर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, एनआरएनए पुर्चुगलका अध्यक्ष दिपा काफ्ले लगायतका थिए ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसि तामाङकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमकको सञ्चालन घेदुङको केन्द्रिय सदस्य सुजन लामा माेक्तानले गरेका थिए भने उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयाेजक फुर्पा तामाङले स्वागत मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयाेजक तामाङका अनुसार कार्यक्रममा करिब ७ सय ५० जनाकाे सहभागीता रहेको थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























