काभ्रे ।भुम्लु गाउँपालिकाको आयोजनामा र रेडियो टप टाउनको संयोजनमा यही माघ २६ गते शनिबार भुम्लु–९, ज्याम्दी दोलालघाटस्थित चाखोला पिकनिक स्पटमा २८६१औं डुल ल्हो (साला पुख्री) सोनाम ल्होछारको पावन अवसरमा बृहत सांस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ।
यस विशेष अवसरमा भुम्लु–सापिङमा वि.सं. १९११ मा निर्मित पेमा छ्वोइलिङ गुम्बाका प्रमुख लामा तथा अन्य लामाहरूको नेतृत्वमा धार्मिक अनुष्ठानहरू साङ, सेर्ग्याम, र मोलम गरिने कार्यक्रम रहेको छ।
सांस्कृतिक कार्यक्रममा तामाङ समुदायका ख्यातिप्राप्त सेलो गायक फूल कुमार बम्जन, अभिषेक तामाङ, जीवन बम्जन तथा गायिका गीता योन्जन र लक्ष्मी स्याङतानको विशेष प्रस्तुति रहनेछ।
कार्यक्रममा नेपाल तामाङ मौलिक व्हाई न्हानको नृत्य टिमको विशेष सांस्कृतिक प्रस्तुति समेत रहनेछ। यस कार्यक्रमलाई स्थानीय समुदाय र सांस्कृतिक क्षेत्रको अभिवृद्धिका लागि ऐतिहासिक अवसरका रूपमा लिइएको छ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ। यो पर्वले तामाङ समुदायको भाषा, भेषभूषा, रीतिरिवाज, परम्परा र सांस्कृतिक पहिचानलाई उजागर गर्दछ। ‘डुल ल्हो’ अर्थात् सर्प वर्गको आगमनलाई स्वागत गर्दै यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ।
यो पर्वले तामाङ जातिको सामूहिक एकता, ऐतिहासिक महत्त्व र परम्परागत ज्ञानलाई उजागर गर्दै नवीन पुस्तामा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने भूमिका खेल्छ। पर्वको मुख्य उद्देश्य तामाङ समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नु हो।
कार्यक्रमको उद्देश्य भुम्लु गाउँपालिकामा शान्ति, सद्भाव, र सांस्कृतिक जागरणको प्रवर्द्धन गर्नु रहेको छ। स्थानीय कला, संगीत र परम्परालाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने विश्वास गरिएको छ। यस् कार्यक्रम नायिका सुनिता लुङ्वाले सञ्चालन गरिने भएकी छिन् ।