काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन्उ ।अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए । ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ’– उनले भने– ‘म विहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए । नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उनले विहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गरे ।

यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए । ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो’– अध्यक्ष प्रचण्डले भने– ‘यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उनले यसले संगठको पहिचान थप उँचो बनाएको बताए । ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको बताए ।

अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए ।  यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले स्पष्ट गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।