तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ५ को गिम्दी बेसी स्थित राेशी खाेलामा यहीं आर्थिक वर्षमा माेटाेरेवल पुल निर्माण हुने भएको छ । पुलको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले शिलान्यास गरेसँगै साे पुल निर्माण हुने भएको हाे ।

शिलान्यासपछि गाउँपालिका अध्यक्ष तामाङले विपी राजगमार्ग र तेमाल जाेड्ने साे पुल निर्माण भएपछि गाउँपालिका कार्यलय जानका लागि निक्कै सहज र छाेटाे दूरी हुने बताए । तामाङले निर्माण कार्य समयसिमा भित्रै सम्पन्न गर्न निर्माण पक्षलाई अनुराेध समेत गरे ।

पुल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत २० लाख रुपैयाँ बजेट बिनियाेजन गरिएको थियाे । गत असाेज ११ र १२ गते आएको भारी वर्षाका कारण राेशी खाेलाले सो स्थानको अस्थायी पुल बगाएको थियाे । पुल बगाएसँगै  बिपी राजमार्गबाट तेमाल आवतजावत गर्न स्थानीयलाई निक्कै कठीन भइरहेकाे थियाे । अस्थायी रुपमा राेशीखाेलामा सडक निर्माण भएपनि दिर्घकालीन रुपमा समस्या समाधान गर्ने उद्देश्यले याे पुल निर्माण हुन लागेको बताइएको छ ।

शिलान्यास कार्यक्रममा लेखा अधिकृत सूर्यप्रसाद त्रिपाठी, शिक्षा शाखा सहायक भिमलाल लामा र स्थानीयहरुको सहभागीता रहेकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।