काठमाडौं । काभ्रेपलाञ्चोकको भकुण्डेबेसी वडा नं ५ घर उल्लेख गरेकी शशी तामाङको माघ २७ गते उपचारकै क्रममा निधन भएको छ।  लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त रहेकी शशीलाई माघ २४ गते काठमाडौंको पाटन अस्पतालमा भर्ना गरिएको थियो।

श्रीमान् हजार सिंह तामाङले आर्थिक अभावका कारण अस्पतालले मागेको डिपोजिट रकम तिर्न नसकेको बताएपछि अस्पतालले सहयोग गर्दै उनलाई आइसीयूमा राखेर उपचार थालेको थियो। तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि अन्ततः माघ २७ गते उनको निधन भएको हो।

दुर्भाग्यवश, श्रीमान् हजार सिंह तामाङको फोन नम्बर (९८४५६५७६५९) अहिले बन्द रहेको र उनी सम्पर्कमा नरहेको समाजसेवी रामदास तामाङले जानकारी गराएका छन्।

समाजसेवी तामाङले काभ्रेपलाञ्चोक क्षेत्रका स्थानीय बासिन्दा तथा शशी तामाङलाई चिनेका आफन्तहरुलाई  शव बुझ्न आउन अपिल गरेका छन्। उनले भने, “पैसाको कुनै चिन्ता नगर्नुहोस्। शव बुझेर अन्तिम संस्कारमा सहयोग गरिदिनुहोला।”

यो घटनाले स्थानीय समुदायलाई भावुक बनाएको छ। मानिसहरूले मानवीयता र सहकार्यको भावना देखाउँदै शशी तामाङको परिवार र आफन्तहरुलाई सम्पर्कमा आउनका लागि  आग्रह गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।