कुवेत – युवा गायक तथा मोडल इन्द योञ्जन तामाङको ‘जिन्दगीला ह्रेङ्बा ग्यालाम’ बोलको गीत भव्य रूपमा सार्वजनिक गरिएको छ।
नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम–२०२५ को विशेष अवसर पारेर गीत सार्वजनिक गरिएको हो। जीवनका संघर्ष, आशा, सपना र भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतले सांगीतिक तथा दृश्यात्मक रूपमा दर्शकको मन छुने अपेक्षा गरिएको छ।
यस गीतका शब्द पेमा डोल्मा तामाङको रहेको छ भने संगीत लोकप्रिय गायक तथा संगीतकार एवम् तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन हुन्। गायक इन्द योन्जन गायिका रस्मी दोङ तामाङको आवाज रहेका छन् ।
गीतको उत्कृष्ट निर्देशन सुनिल कुमार मोक्तानले गरेका छन्। भिडियो छायांकनमा दिपेन कार्की, प्रकाश संयोजनमा शन्तु गुरुङ तथा सम्पादन पक्षमा कुशल टिमले मेहनत गरेको देखिन्छ।
यस भिडियोमा गायक इन्द योन्जन, संगीता दोङ तामाङ, र पाल्साङ योन्जन तामाङको निकै सशक्त अभिनय रहेका छन् ।
गायन यात्रामा लामो समयदेखि सक्रिय इन्द योन्जनका लागि यो भिडियो विशेष छ, किनभने यसमा उनले पहिलो पटक अभिनय गरेका छन्। गीत सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गायक इन्द योन्जन बताउँछन्। उनले आफ्नो अभिनय यात्राको पहिलो प्रयासलाई सफल बनाउन दर्शक, शुभचिन्तक तथा परिवारजनको माया र हौसलाको लागि विशेष धन्यवाद दिएका छन्।
‘जिन्दगीला ह्रेङ्बा ग्यालाम’ ले जीवनका कठिन यात्रा, सङ्घर्ष र आत्मविश्वासको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा तामाङ समुदायको मौलिकता झल्किने दृश्यहरू, संगीतमा भावनात्मक स्पर्श, र कथा–पटकथाको उत्कृष्ट संयोजन रहेको छ।
यस म्युजिक भिडियोलाई गायक एवम् मोडल इन्द योन्जनको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।