काठमाडौं । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले एक –एक गोलको बराबरी खेलेका छन् ।
डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै दिलाएको अग्रता ३७ मिनेटसम्म मात्रै टिक्यो । ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले बराबरी गोल फर्काए ।
फ्रान्ससँग पहिलो खेल २–१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले हराएको थियो ।
खेलमा ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको अस्ट्रेलियाले प्रहार गरेका १२ सटमा ३ वटा मात्रै पोस्टको दिशामा थिए । डेनमार्कले खेलमा ८ सट प्रहार गरेकोमा ४ वटा सट पोस्टको दिशामा थिए ।
डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १७ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ८ खेल बराबरी भएको छ ।
समूह ‘सी’ कै अर्को खेलमा आज राति पेरु र फ्रान्स खेल्दै छन् ।