काठमाडौं, फागुन ८ – नेपाल तामाङ कलाकार संघको आयोजनामा सोनाम ल्होछारको अवसर पारेर बृहत् सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने भएको छ। तामाङ समुदायको महत्वपूर्ण पर्व २८६१ (डुल सापुख्री)सोनाम ल्होछार तथा तामाङ एल्बम दिवसको अवसरमा विशेष सांगीतिक प्रस्तुतिहरूको साथमा ल्होछार समापन कार्यक्रमसमेत समावेश गरिने भएको हो।

यस कार्यक्रममा तामाङ समुदायको चर्चित तथा वरिष्ठ कलाकारहरूले आफ्ना प्रस्तुति दिनेछन्। कार्यक्रममा सहभागी कलाकारहरूमा चन्द्र कुमार मोक्तान, चन्द्र कुमार दोङ, इन्दिरा गोले गुरुङ, रोज मोक्तान, विजय लामा, प्रेम लोप्चन, जमुना योञ्जन, सुसन लामा अमृत लामा, इन्दिरा योञ्जन, तुलसा वाइवा,सन्जीव वाइवा, विश्व दोङ, उतर लामा लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिने तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तनले तेमाल अनलाइनलाई जानकारी दिएको हो।

उक्त ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम २०८० फागुन १४ गते,बौद्ध हेरिटेच, बौद्ध पिपलबोटमा दिउँसो ३ बजे देखि हुने भएको छ। भने कार्यक्रम प्रवेश शुल्क: रु. १५०० (स्न्याक्स र डिनर सहित) रहेको आयोजकले बताएको छ।

नेपाल तामाङ कलाकार संघले हरेक वर्षमा कार्यक्रमको आयोजना गर्ने यस कार्यक्रमले तामाङ भाषा, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै तामाङ कलाकारहरूलाई सशक्त बनाउने उद्देश्य लिएको छ। यस पटकको कार्यक्रमलाई थप भव्य बनाउन अनुभवी कलाकारदेखि नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरूलाई समेटिएको छ।

समग्रमा कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, सांस्कृतिक गहिराइ र परम्परामा आधारित मूल्यहरूलाई समेत महसुस गराउनेछ। यस विशेष कार्यक्रममा कलाकारहरूका प्रेरणादायी प्रस्तुतीको चर्चा हुँदै, सम्पूर्ण संगीतप्रेमी, विशेषगरी तामाङ समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन आयोजक नेपाल तामाङ कलाकार संघले हार्दिक निमन्त्रणा गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।