काठमाडौं– बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा सोमबार साँझ कलंकीस्थित आफ्नै साथीको कोठामा अचेत भेटिए ।

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा धुनीबेसी नगरपालिका-८ घरका शिव कुँवरको कोठामा अचेत फेला परेका थिए । उनी भेटिएको कोठामा विषको खाली बट्टासमेत फेला परेको थियो ।

थापालाई तत्कालै उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइयो । उपचारकै क्रममा सोमबार साँझ ६:३८ बजे चिकित्सकले थापालाई मृत घोषणा गरेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्का बताउँछन् । ‘अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरे,’ खड्काले भने ।

मन्त्रीका स्वकीय सचिवको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा तीन पेज लामो सुसाइड नोट भेटियो । एक प्रहरी अधिकृतका अनुसार सुसाइड नोटमा सहकारीको विषय र केही पारिवारिक विषय उल्लेख छ ।

‘एउटा सुसाइड नोट पनि फेला परेको छ । पारिवारिक र सहकारीका केही विषय उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा सुसाइड नोटमा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने । घटनास्थलमा भेटिएको उक्त सुसाइड नोटको आधिकारिकता पुष्टि हुन भने बाँकी नै छ । फरेसिन्क जाँचबाट उक्त सुसाइड नोट थापाले ने लेखेका हुन्/होइनन्, यकिन हुन बाँकी छ ।

अडिओमा आचार्यले ‘अब कसरी अघि बढ्ने तपाईंहरुले नै भन्नूस्’ भनेको सुनिन्छ । त्यसपछि थापा र बर्तौलाले फोनमार्फत कर्मचारीदेखि सबै मिलाउनुपर्ने र त्यसका लागि रकम चाहिने बताउँछन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा थापाले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपि, यसको पनि आधिकारिक पुष्टि भएको छैन । मंगलबार मात्रै थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । पोस्टमार्टम रिपोर्ट समेत आउन बाँकी नै छ । प्रहरीको अहिलेसम्मको अनुसन्धानमा उनको मृत्यु प्रकरणमा सहकारी र सार्वजनिक भएको अडिओसम्बन्धी विषय रहेको हुनसक्ने आशंका गरिएको छ ।

के छ बार्गेनिङ अडिओमा ?

जनआस्था साप्ताहिकको अनलाइन संस्करणले गत आइतबार मात्रै सहकारीको विषय सल्टाउने भन्दै बार्गेनिङ गरेको अडिओ सार्वजनिक गरेको थियो । उक्त अडिओमा हाल मृत्यु भएका थापाका साथै धादिङका राजु बर्तौला र ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालीन सचिव विनोद आचार्यबीच कुराकानी भएको बताइएको छ ।

अडिओमा अब कसरी अघि बढ्ने तपाईंहरुले नै भन्नूस् भन्दै आचार्यले भनेको सुनिन्छ । त्यसपछि थापा र बर्तौलाले फोनमार्फत कर्मचारीदेखि सबै मिलाउनुपर्ने र त्यसका लागि रकम चाहिने बताउँछन् ।

अरु भागिसके अब तपाईं भाग्ने कि नभाग्ने भन्दै बार्गेनिङ गरेको सुनिन्छ । आरजुको नाम समेत अडिओमा लिएको सुनिन्छ । मन्त्री मदुको नाम पनि लिइएको छ । बागमती प्रदशेमा ३ हजार ७ वटा सहकारीमा ३ सय वटा सहकारी समस्याग्रस्त घोषणा भएको बताउँदै आचार्यसँग बार्गेनिङ गरेको सुनिन्छ ।

‘आफूलाई कसरी सहज हुन्छ त्यही अनुसार काम गर्नुस् । धेरै लम्बाई–चौंडाई कुरा गरेर काम पनि छैन,’ सचिव आचार्यलाई भनिन्छ । उनले कसरी गर्ने त भन्छन् । ‘अब कसरी टाल्ने तपाईंले ल्याउने, हामीले काम गर्ने । मदु दाइको टेन्सन नलिनु, काम हुन्छ’ भन्ने जवाफ आचार्यलाई दिइन्छ ।

कति गरम भन्नु, म गर्छु भन्दै आचार्यले जवाफ फर्काउँछन् ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको नाम लिँदै बार्गेनिङ गरिएको अडिओ बाहिरिएपछि सोमबार मात्रै एक व्यक्तिमाथि धादिङ प्रहरीले केरकार गरेको थियो ।

‘कर्मचारीले जति पनि माग्छन् । १ करोड २ करोड नै भन्लान् जस्तो लाग्छ । तपाईंको समस्या ठूलो छ । तत्कालका लागि १० लाख,’ अडिओमा सुनिन्छ ।

मन्त्री मदुको नाम लिँदै बार्गेनिङ गरेको उक्त अडिओ बाहिरिएपछि सोमबार मात्रै एक व्यक्तिमाथि धादिङ प्रहरीले केरकार गरेको थियो ।

मन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धादिङलाई एक पत्र पठाउँदै घटनाबारे अनुसन्धान गर्न भनेका थिए । उक्त पत्र सोमबार मात्रै प्रहरीले पाएको थियो । मन्त्रीको पत्र आएपछि नाम उल्लेख भएका राजु बर्तौला नाम गरेका व्यक्तिलाई बोलाएर सोधपुछ गरिएको धादिङका डीएसपी तथा प्रवक्ता सुवास हमालले बताए ।

‘मन्त्रीज्यूको पत्र आएपछि हामीले बर्तौलालाई बोलाएर सामान्य सोधपुछ गरी छाडेका हौं । यो घटनाको प्रारम्भिक अनुसन्धान सुरु मात्रै भएको छ,’ हमालले भने ।

यद्यपि, उक्त अडिओको आधिकारिकता पुष्टि हुन बाँकी नै छ । ‘सार्वजनिक भयो भनिएको अडिओ सत्य हो/होइन भन्ने यकिन भइसकेको छैन । यसको फरेन्सिक जाँच हुन बाँकी नै रहेकाले उक्त अडिओलाई अहिले नै सत्य मान्न सकिन्न,’ डीएसपी हमाल भन्छन् ।

१२ मिनेट २२ सेकेन्डको अडिओमा समस्यग्रस्त भएको उक्त सहकारीको विषय सल्टाउने भन्दै फोनमार्फत बार्गेनिङ भएको सुनिन्छ । समेरु सहकारीलाई मन्त्री मदुको मन्त्रालय मातहत रहेको सहकारी महाशाखाले गत २८ पुस २८ समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । रकम पाएमा सोही सहकारीको समस्या सल्टाउने र सबै फाइल नै उडाउनेसम्मको कुराकानी सार्वजनि अडिओमा सुनिन्छ ।
‘सुमेरुलाई समस्याग्रस्त घोषणा गरेपछि मन्त्रीलाई बद्नाम गराउन खोजियो’

बागमती प्रदेशका सहकारी मन्त्री मदुले भने समेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि आफूलाई बद्नाम गर्ने योजनाअनुसार अडिओ बनाइएको दाबी गरेका छन् । ‘समेरु सहकारीलाई समस्याग्रस्त घोषणा नगर्न भन्दै मलाई दबाब आएको थियो । तर कसैको कुरा नसुनी मैले समस्याग्रस्त घोषणा गरें । त्यसपछि मलाई बद्नाम गराउने उद्देश्यअनुसार यो अडिओ आएको हो । यसमा कुनै बार्गेनिङ भएको छैन,’ मन्त्री मदुले अनलाइनखबरसँग भने ।

सार्वजनि अडिओमा आफ्नो नाम सुनेपछि छानबिन गरी कारबाही गर्न भन्दै सोमबार मात्रै धादिङ प्रहरीमा उजुरी दिएको उनको भनाइ छ । उनका अनुसार राजु बर्तौला र सुमेरु सहकारीका तत्कालीन सचिव विनोद आचार्यमाथि छानबिन गरी कारबाही गर्न भन्दै उजुरी दिइएको थियो ।

लगत्तै सोमबार प्रहरीले बर्तौलालाई बोलाएर केरकार सुरु गरेपछि अडिओमा बोलेका अर्का मन्त्रीका स्वकीय थापाको मृत्यु भएको छ । थापाले सुसाइड नोटमा समेत मन्त्रीले राम्रो काम गरेकाले आफू र मन्त्रीलाई बद्नाम गराउन खाजेको विषय उल्लेख गरेको मन्त्री मदुको दाबी छ ।

उनका अनुसार हाल मृत्यु भएका स्वकीय सचिव थापा गत शनिबार र आइतबार बिदामा थिए । अडिओ गत शुक्रबारको भनिएको छ । आइतबार समेत बिदामा बसेका उनको सोमबार साँझ मृत्यु भएको थियो । –अनलाइन खबरबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।