पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष वसन्त शेर्पा, सचिव प्रेम थापा, कोषाध्यक्ष गणेश बज्रलामा, सहसचिव माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल र आदित्य रसाइली चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, संस्थागत रूपमा अग्रज फोटो पत्रकारहरूसँग समन्वय गरी प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै, कार्यक्रमकी अर्की वक्ता राधिका कँडेलले फोटो पत्रकारहरूको हकहितको रक्षा गर्दै पेशागत अधिकारहरूलाई सुनिश्चित गर्न कार्यसमितिलाई आग्रह गरिन्।
नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले पदभार ग्रहण गर्दै फोटो पत्रकारहरूको हकहितका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले आगामी नयाँ वर्षको अवसर पारेर संस्थाको भित्ते पात्रो प्रकाशन गर्ने, फोटो पत्रकारहरूको प्रोत्साहनका लागि विभिन्न पुरस्कार स्थापना गर्ने र पोखरामा वृहत फोटो प्रदर्शनी आयोजना गर्ने घोषणा गरे। साथै, उनले फोटो प्रदर्शनी सफल बनाउन सम्पूर्ण सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गरे।
नयाँ नेतृत्वको आगमनसँगै कास्की जिल्लाका फोटो पत्रकारहरू अझ संगठित हुँदै पेशागत सुरक्षाका सवालमा सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।