हेटाैडा– बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री मदु कुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाको मृत्यु रहस्यमय र शंकास्प द भएको भन्दै सर्वदलीय संसदीय छानविन समिति गठनकाे माग गरेको छ । ने.क.पा. (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकाल, ने. क. पा. (एकीकृत समाजवादी)का संसदिय दलका प्रमुख सचेतक वशन्त प्रसाद मानान्धार र राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदिय दलका प्रमुख सचेतक कुमारी तामाङले एक प्रेस वक्तव्य जारी गरी छानविन समिति निर्माण गरी छानविन गर्न माग गरेका हुन् ।
तीन दलका प्रमुख सचेतकहरुले घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री श्रेष्ठको राजिनामा समेत माग गरेका छन् ।
यस्तो छ विज्ञप्तिः
मिति २०८१।११।१४
प्रेस विज्ञप्ति
बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री श्री मदु कुमार श्रेष्ठको स्वकीय सचिव, धुनिवेशी नगरपालिका वडा नं. ९, धादिङ निवासी श्री रवि थापाको यहि मिति २०८१ साल फागुन १३ गते ३६ बर्षको उमेरमा भएको असामयीक एवं अकल्पनीय मृत्युको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद क्षणमा हामी दिवंगत रवि थापाप्रति हार्दिक श्रद्धाञ्जलि एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
मृतक रवि थापाको अकल्पनीय मृत्यु पछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख (सुसाइड नोट) भनिएको पत्र तथा सहकारी सम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा मन्त्री मदु कुमार श्रेष्ठ लगायत नेताहरुको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ । उक्त घटनालाई हामी बागमती प्रदेश सभामा प्रतिपक्षमा रहेका ने.क.पा. (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र ने.क.पा. (एकीकृत समाजवादी) पार्टीले गंभिर रुपमा लिएका छौं । त्यसैले यस घटनाको सबै पक्षबाट छानविन हुन अत्यन्त जरुरी छ । हामी यस घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदु कुमार श्रेष्ठको राजिनामा माग गर्दछौं । साथै यस घटनाको प्रदेश स्तरमा संसदीय छानविन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ । त्यसैले हामी प्रदेश सभाको बैठक अविलम्व सञ्चालन गरी रवि थापा मृत्यु सम्बन्धी सर्वदलीय संसदीय छानविन समिति निर्माण गर्नका लागि प्रदेश सभाको बैठक तत्काल सुचारु गरी छानविन समिति गठन गर्न प्रदेश सरकार र सभामुख समक्ष यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं
|
मा. वशन्त प्रसाद मानान्धार
ने. क. पा. (एकीकृत समाजवादी), संसदिय दल, बागमती प्रदेश सभा
मा. कुमारी तामाङ प्रमुख सचेतक,
राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदिय दल, बागमती प्रदेश सभा
मा. रत्न प्रसाद ढकाल प्रमुख सचेतक
ने.क.पा. (माओवादी केन्द्र), संसदीय दल, बागमती प्रदेश सभा दल
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।