बनेपा– नेकपा (एमाले) निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समितिको १४ औ जिल्ला अधिबेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट भिमसेन हुमागाई अध्यक्षमा निर्विराेध निर्वाचित भएका छन् ।
अधिबेशनबाट उपाध्यक्षमा चित्र गौतम, महिला उपाध्यक्षमा विद्यालक्ष्मी देउजा, सचिवमा योगेन्द्र बडाल, कोषाध्यक्ष चन्द्रप्रसाद तिमल्सिना, सह–सचिव सुविद्या त्रिपाठी र सह–कोषाध्यक्ष रामशोभा भण्डारी निर्विराेध निर्वाचित भएका छन् ।
अधिबेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । कार्यक्रममा बोल्दै नेता बास्कोटाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न र राज्यले गरेको लगानीलाई समेत खेर जान नदिन आवासिय विद्यालय निर्माणमा जोड दिए । शिक्षक, अभिभावक तथा समुदायको मेहनत र समन्वयमा मात्रै सामुदायिक विद्यालयहरुको गुणस्तर कायम हुन सक्ने बताउँदै नेता बास्कोटाले शिक्षालाई ब्यवहारीक र जीवनपयोगी बनाउन राज्यले बनाउने नीतिहरु स्पस्ट बन्नु पर्ने बताए । शिक्षकहरुले उठाएका विषयहरुलाई समेत सम्बोधन गर्दै नेता बास्कोटाले विधेयकमा शिक्षकहरुका हक, अधिकार स्थापित गर्ने अभियानमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।
उद्घाटन सत्रमा संगठनका केन्द्रिय उपाध्यक्ष कमला थापा, नेकपा एमालेका प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल लगायतका पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरु, विभिन्न पेशागत संघ संगठनका नेताहरु, शिक्षक संगठनका विभिन्न तहका नेताहरु, पालिका कमिटीका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























