ललितपुर – हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरूको राष्ट्रिय नयाँ वर्ष २१५२औं शिङ मो डुल ल्हो (काष्ठ स्त्री सर्प वर्ग) ग्याल्पो ल्होसार विशेष कार्यक्रम तामाङ ल्हुङतोग गुम्बा, महाँकाल गाउँपालिका–४, कालेश्वर बतासे, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

लोसार विशेष सांस्कृतिक कार्यक्रम महाँकाल गाउँपालिकाका अध्यक्ष गणेश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डोल्मा माया सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

उक्त लोसार कार्यक्रमबाट समाजमा विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई लोसार विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै आयोजक संस्थाले कदर गरेको हो

लोसारको सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायक रोज मोक्तान, प्रेम लोप्चन, सुमिना लो, दाङबोला ग्युईठिम परिवारसहितका कलाकारहरूले शानदार प्रस्तुति दिएका थिए। कार्यक्रममा ग्याल्बो लोसारको मौलिक सांगीतिक धरोहरलाई जगेर्ना गर्दै आधुनिक शैलीमा प्रस्तुत गरिएका गीत–संगीतले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना आदान–प्रदान गरिएको थियो।

कार्यक्रम तामाङ समुदायका प्रथम खेन रिन्पोछे गेशे निमा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने टेक मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।