बनेपा– काभ्रेको बनेपा नगरपालिका–८ मा रहेको लिन इन्टरनेशनल स्कूलले आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार स्कूलले आफ्नै भवन परिसरमा एक कार्यक्रमका बीच अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले लिन इन्टरनेशनल स्कूलले अरु स्कूलभन्दा फरक शैलीले अध्यापन गराइरहेकोले जिल्लामै उत्कृष्ट शैक्षिक गन्तव्य बनेको बताए । उनले काभ्रे जिल्लाको मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीहरुका लागि यस स्कूलले सेवा प्रवाह गरिरहेकाले यो स्कूलको थप प्रगतिको कामना गरे ।
उनले लिन इन्टरनेशनलले उत्कृष्ट शिक्षक शिक्षिका, उत्कृष्ट खेलाडी विद्यार्थीलगायतलाई सम्मान र पुरस्कृत गरेकोप्रति लक्षित गर्दै यस्ता क्रियाकलापले उनीहरुको थप मनोबल बृद्धि हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्दै अभिभावक, विद्यार्थीलगायत सबैको सहयोगले स्कूल अहिलेको अवस्थामा आइपुगेकाले आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए ।
२०५७ सालमा स्थापना भएको यस स्कूलमा हाल प्लेग्रुपदेखि कक्षा १० सम्म पढाई भइरहेको विद्यालयका निर्देशक कृष्ण भण्डारी (शिशिर)ले जानकारी दिए । उनका अनुसार विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा विभिन्न विधा र प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो । विद्यालयका निर्देशक भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गर्नुका साथै विभिन्न सांगितिक कार्यक्रमहरुका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।