पनाैती– काभ्रे जिल्लाकाे पनौती नगरपालिकामा रहेको तीनवटा रोडा ढुंगा उद्योग बन्द गराएको छ । नगरपालिकाले साे उद्याेगहरु आज बन्द गराएकाे हाे ।
पनौती नगरपालिका वडा नम्बर २ र १२ मा मापदण्डविपरित सञ्चालित गरिएको भन्दै तीनवटा रोडा ढुंगा उद्योग बन्द गर्ने निर्णय गरेको थियाे । बन्द हुनेहरुमा पनौती नगरपालिका वडा नम्बर २ मा सञ्चालित श्री डाइमण्ड स्टोन माइनिङ प्रा.लि., पनौती नगरपालिका वडा नम्बर १२ को श्री भालेश्वर रोडा ढुंगा उद्योग प्रा.लि. र दिपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. रहेका छन् । नगरपालिकाका अनुसार अर्को आदेश नभएसम्म बन्द गरिएको छ । यी उद्योगहरु उत्खनन् अवधि समाप्त भइसक्दा समेत सञ्चालन भइरहेका थिए ।
खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अवधि समाप्त भइसकेका उद्योग बन्द गर्न पटकपटक ताकेता गर्दा समेत अटेरी गरेपछि नगरपालिकाले बन्द गराएको हो । नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष जयराम केसी लगायत जनप्रतिनिधि, प्रहरीको उपस्थितीमा उद्योग बन्दको सुचना टाँसिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























