काठमाडौं – नेपाल तामाङ कलाकार संघद्वारा आयोजित स्वर्गीय गायिका योगिता मोक्तानको १४औं स्मृति दिवस तथा प्रतिभा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सेलो गायक, संगीतकार तथा रचनाकार जीवन बोम्जन तामाङलाई योगिता मोक्तान प्रतिभा पुरस्कार प्रदान गरिएको छ। उनले रु २० हजार नगदसहित सम्मान पत्र प्राप्त गरेका छन्।

नेपाल तामाङ कलाकार संघले स्मृति सभामा तामाङ समुदायमा उल्लेखनीय योगदान पुर्याएका दिवंगत कलाकारहरू स्व. जयनन्द लामा, दीपेन्द्र दोङ, र योगिता मोक्तानको सम्झनामा खादा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।

कार्यक्रम नेपाल तामाङ घेदुङको सभाहल, बौद्ध चुच्चेपाटीमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मन्तव्य राख्दै उनले तामाङ समाजले होनहार प्रतिभाहरू गुमाएकोमा दुःख व्यक्त गर्दै, उनीहरूका कृति, गीत र संगीत सधैं अमर रहने उल्लेख गरे।

कार्यक्रममा तामाङ कलाकार संघका सल्लाहकार इन्दिरा गोले, प्रेम लोप्चन, सञ्जीव वाइबा, विश्व दोङ, म्हेन्दोमाया गीतका पहिलो गायक लेक योञ्जन, तामाङ चलचित्र संघका महासचिव उत्तर लामा, वाइबा समाजका अध्यक्ष बिगेन्द्र वाइबा, तामाङ चिकित्सक समाज नेपालका अध्यक्ष डा. निराजन तामाङ, तथा स्व. योगिता मोक्तानको परिवारसहित थुप्रै कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम तामाङ कलाकार संघका अध्यक्ष तथा लोकप्रिय गायक–संगीतकार विशाल कल्तानको सभापतित्वमा सम्पन्न भएको थियो भने संघका महासचिव खेम मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए।                                                                                              स्व. योगिता मोक्तान हाम्रोसामु हुनुहुन्न तर पनि उहाँले दिनुभयोको  तामाङ सांगीतिक क्षेत्रमा योगदान र कृतिहरु  सधैं अमर रहने अध्यक्ष विशाल काल्तानले बताउनुभयो ।

योगिता मोक्तान प्रतिभा पुरस्कारको यो चौथो संस्करण हो। गत वर्ष चर्चित सेलो गायिका जितु लोप्चनलाई सम्मानित गरिएको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।