धुलिखेल— काभ्रेमा स्ववियु निर्वाचनलाई लिएर ५ विद्यार्थी संगठनहरु एक ठाउँमा उभिएका छन् । काभ्रेमा रहेको १५ क्याम्पसमा सर्वसहमत नेतृत्व चयन गर्ने ५ विद्यार्थी संगठनबीच सहमति भएको हाे ।
सोमबार बसेको नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू र अखिल समाजवादी गरी ५ संगठनको संयुक्त बैठकले १५ क्याम्पसको सभापतिका लागि सहमति भएको छ । सहमतिअनुसार, काभ्रेको इन्द्रेश्वर क्याम्पस, प्रकाश क्याम्पस, कानपुर क्याम्पस, चैतन्य क्याम्पस, पार्वती क्याम्पस, मंगल जनबिजय क्याम्पसको सभापतिमा नेविसंघ रहनेछ । तेजगंगा क्याम्पस, जनक क्याम्पस, सर्वमंगला क्याम्पस, डेडीथुम्का क्याम्पस, धुलिखेल क्याम्पस र कुशादेवि क्याम्पसको सभापतिमा अनेरास्ववियु रहनेछ ।
त्यस्तै, सञ्जिवनी क्याम्पस, प्रभा क्याम्पस र दाप्चा कृष्ण क्याम्पसको सभापतिमा अनेरास्ववियु क्रान्तिकारी रहने सहमति भएको छ । अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ ।
यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा २ सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । अन्य पदहरूमा भने प्रक्रियाअनुसार अघि बढ्ने सहमति गरिएको छ । यस्तै, काभ्रे क्याम्पसमा भने प्रतिस्पर्धा प्रक्रियामा निर्वाचन हुने तयारी गरिएको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।