महाभारत- काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको छ। सोमबार गाउँपालिकाको वडा नं १ बाट स्वास्थ्य परीक्षण सुरु गर्दै ‘महाभारत बन्दै छ, बा आमालाई सन्चै छ ? ’ भन्ने नारासहित स्वास्थ्य परीक्षण अभियान सबै वडाहरूमा सञ्चालन हुने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए।
विकट पालिकाभित्र रहेका ३० वर्षभन्दा माथिका सबै नागरिकलाई लक्षित गरेर स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको हो। समयमा ठूला अस्पताल पुग्न नसक्ने नागरिकहरू र स्वास्थ्यमा पहुँच नपुग्ने नागरिकहरूले स्वास्थ्य परीक्षणमार्फत लाभ लिन सक्ने अध्यक्ष जिम्बाले बताए।
जिल्लाको महाभारत गाउँपालिकामा हेलिकोप्टरमार्फत धेरै उद्धार गर्नुपर्ने थियो। नेपाल सरकार राष्ट्रपति उद्धार कार्यक्रम गाउँपालिकामा सुरु भएसँगै धेरैले हेलिकोप्टर मार्फत उद्धार पाएर पुनर्जीवन लिन सकेका छन्।
जिल्लाको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाभित्र रहेका नागरिकलाई पालिकाभित्र ठूला स्वास्थ्य केन्द्र नभएका कारण छिमेकी जिल्ला सिन्धुली र मकवानपुर जानुपर्ने बाध्यता छ।
अभियानमा आमाबुवाहरूलाई नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण अभियान पाँच दिन सञ्चालन हुने पालिका स्वास्थ्य शाखाले जनाएको छ। सोमबार सुरु भएको कार्यक्रम वडा नं १, २, ३, ४ र ५ को स्वास्थ्य केन्द्रहरूमा सञ्चालन हुने जनाइएको छ।
३० वर्ष माथिकाहरूलाई स्वास्थ्य परीक्षणमा रक्तचाप, मिर्गौलामा जाँच, बीएमआई मापन, स्वास्थ्य प्रवर्द्धन तथा न्यूनीकरणको लागि परामर्श र ३० वर्ष माथिका महिलाको प्रजनन स्वास्थ्य समस्यबारे परीक्षण हुने गाउँपालिकाले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।