तेमाल- भकुण्डे-तेमाल-मेच्छे सडक निर्माण कार्य हालको समयमा पुनः रोकिएको छ। यसअघि, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको टोलीले सडक विभागको कार्यालयमा दवाव दिँदा निर्माण कार्य केही दिनका लागि सूचारु भएको थियो। तर हाल पुनः निर्माण कार्य रोकिएको छ, जसले स्थानीय जनतालाई सस्तो यातायात र विकासमा कठिनाइको सामना गर्न बाध्य बनाएको छ।
अध्यक्ष तामाङले पुनः सडक विभागसँग सम्पर्क गर्न फोन गरेका थिए, तर विभागका कर्मचारीहरूले फोनको जवाफ दिएका छैनन्। यसपछि, अध्यक्ष तामाङले म्यासेज पठाएर सडक निर्माण सुरु गर्ने अनुरोध गरेका थिए। यसमा विभागले चाँडै निर्माण कार्य पुनः सुरु गर्ने आश्वासन दिएको थियो। यद्यपि, उक्त म्यासेज पठाएको पछि पनि निर्माण कार्य भने शुरु भएको छैन ।
तेमालका स्थानीय बासिन्दाहरूका लागि यो सडक अत्यन्त महत्त्वपूर्ण छ। भकुण्डे-तेमाल-मेच्छे सडक, जसलाई विपी राजमार्गको वैकल्पिक मार्गको रूपमा अगाडी बढाएकाे छ । सडक नहुँदा स्थानीय जनताले ठूलो कठिनाइ भोगिरहेका छन् । यातायातको अभावले गर्दा वस्तुहरूको आपूर्ति, चिकित्सा सेवा र अन्य दैनिक आवश्यकताहरूमा गहिरो असर परेको छ। यसका कारण, तेमालका बासिन्दाहरूलाई ठूलो आर्थिक र शारीरिक समस्याको सामना गर्नुपर्ने परिरहेको छ।
सडक निर्माणमा पुनः ढिलाइ भएको अवस्थामा, तेमाल गाउँपालिकाका अध्यक्ष तामाङले सडक विभागसँग थप दवाव सिर्जना गर्न थालेका छन्। तामाङले भने, “यो सडकलाई तत्काल पूरा गरिनुपर्छ, यसले हाम्रो गाउँका लागि मात्र होइन, सम्पूर्ण क्षेत्रको विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
यस समस्या समाधान गर्न स्थानीय जनताले उच्चस्तरीय ध्यानाकर्षणको अपेक्षासाथ, तेमाल गाउँपालिका अध्यक्षको नेतृत्वमा दवाव जारी राखिरहेका छन्। सडक निर्माण कार्यमा चाँडै प्रगति नदेखिएमा, स्थानीय बासिन्दाहरू सडक विभागसँग थप गम्भीर कदम चाल्न सक्ने संकेत गरेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।