पाँचखाल– २७ औं साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा शहिद परिवारलाई सम्मान गरिएको छ । तत्कालीन सरकारले २०५५ साल चैत्र ५ गते पाँचखाल नगरपालिका स्थित अनेकोटमा माओवादी जनकलाकारहरुलाई निर्ममतापूर्वक हत्या गरेको थियो । साेही दिनलाई माओवादीले साँस्कृतिक प्रतिराेध दिवसको रुपमा मनाइदै आएकाे छ ।
कार्यक्रममा अनौकोटमा सहिद भएका सहिद चिनिमाया लामाका दाजु छ्योईसाङ तामाङ, गुम्बा सिं तामाङका भाइ राजकुमार तामाङ, शुभद्रा सापकोटाका आमा सुशिला सापकोटा लगायत जनयुद्धका सहिद परिवार लनाम दोङका दाजु गंगबहादुर तामाङ, प्रेम बराईलीका दिदी ईन्द्रमाया बराइली, सुरज तामाङका बुबा जितबहादुर तामाङ, केदार आचार्यका बुबा यज्ञप्रसाद आचार्य, चन्द्र तामाङका बुबा पुड्के तामाङ, बुद्धिलाल श्रेष्ठका श्रीमती गंगामाया श्रेष्ठ र वेपत्ता योद्धा सुगन श्रेष्ठका श्रीमती दुर्गा श्रेष्ठलगायतका परिवारलाई सम्मान गरिएको थियाे । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं चौतारा सागाँचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सापकोटाले सर्वहारा वर्गको मुक्तिका लागि हाँसीहाँसी आफ्नो प्राणको उत्सर्ग गर्ने सहिद नेपाली आम उत्पीडित जनसमुदायका छोराछोरी भएको बताउँदै सात जना कलाकारहरुको सामुहिक हत्या गरेको अनैकोटाको भूमिमा हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आउनुले सहिदहरुले गरेको बलिदानीको उच्च सम्मान भएको बताए ।
उनले जनयुद्ध लडेका मान्छेहरुले मात्रै अबको मुलुकको बाँकी कार्यभार पूरा गर्न नसक्ने भएकाले सबै पार्टीहरुभित्र भएका सच्चा गणतन्त्रबादीहरुलाई पनि संगै लिएर विशाल पार्टी निर्माण गरी अगाडी बढ्न आवश्यक रहेको बताए । त्यसको लागि सिंगो पार्टीपंक्तिले त्यस खालको विचार निर्माण गर्दै राजनीतिक कार्यदिशा स्पष्ट पारेर नयाँ ढंगले २१औं शताब्दीको समाजबादी यात्रा तय गर्न आवश्यक रहेकोमा जोड दिए । उनले सहिदहरुले पनि त्यसरी नै मार्गदर्शन गरिरहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला इञ्चार्ज तेजबहादुर मिजारले सहिदहरुले छोडेर गएको परिवर्तनको बाँकी कार्यभार पूरा गर्न लागेनौ भने अहिले बाँचिरहनुको अर्थ नभएको बताए । त्यसरी सहिदले देखाएको बाटोमा लामवद्ध हुने क्रममा देशभरिका दूई सयभन्दा बढी जनसांस्कृतिककर्मिहरुले सहादत प्राप्त गर्नु परेको बताए ।
नेकपा (माओवादी केन्द्र)का काभ्रेपलाञ्चोक जिल्ला संयोजक भोला अर्यालले जनयुद्धमा सहिद भएकाहरुको परिवारको अवस्था कस्तो छ भन्ने कुराको ख्याल गर्ने र आवश्यक व्यवस्थापन गर्ने काम राज्य र पार्टी दुवैको भएको बताए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु कृष्ण अधिकारी, गंगाबहादुर तामाङ बमध्वज, जिल्ला सचिव दैवलाल घिसिङ लगायतका नेताहरुको सहभागीता थियो ।
कार्यक्रममा जनकलाकारहरु विश्व् दोङ, झंकार बुढामगर र गंगा सिंतानलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।