चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चौरीदेउराली गाउँपालिकाले जवायु परिवर्तन सम्बन्धी विषय स्थानीय पाठ्यक्रममा समावेश गरेकाे गाउँपालिका अध्यक्ष रेणुका चाैंलागाईंले  बताएका छन् ।  जलवायु परिवर्तन अनुकूलन योजना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष छलफलमा अध्यक्ष चाैंलागाईंले सो कुरा बताएका हुन् ।

‘गाउँपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णय गरिसकेको छ। थप पाठ्यक्रमको आवश्यकता रहेको महसुस पनि गरेका छौं ।’ उनले भने, ‘विद्यालय तहमा जलवायु शिक्षालाई अनिवार्य रूपमा लागू गर्ने कार्ययोजना निर्माण भइरहेको छ ।विद्यार्थीहरूलाई जलवायु संरक्षणका व्यावहारिक सिकाइहरूसँग जोड्ने उद्देश्यले विविध कार्यक्रमहरू अघि बढाइनेछ।’

गाउँपालिकाका जनप्रतिनिधि, सरकारी अधिकारी, शिक्षा तथा विपद् व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा युवाहरूले जलवायु परिवर्तन सम्बन्धी विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै विशेष पत्र बुझाएका थिए ।

गाउँपालिका अध्यक्ष चौलागाईंले विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै जलवायु परिवर्तनका असरहरू चौरीदेउरालीमा प्रत्यक्ष रूपमा देखापरेको बताउँदै अनुकूलन उपायहरू शीघ्र कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरिन् । बाढी, पहिरो, सुख्खा तथा अनावृष्टि जस्ता प्राकृतिक विपद्ले स्थानीय जीवनमा गम्भीर असर पुर्याइरहेको हुँदा व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। उनले विपद् जोखिम न्यूनीकरण, स्थानीय स्रोत साधनको उचित उपयोग तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै संघीय सरकार, स्थानीय स्रोत र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहकार्य गरेर आवश्यक बजेटको व्यवस्थापन गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले गाउँपालिकाले विपद् व्यवस्थापनका लागि स्थानीय स्तरमै पूर्वतयारीका उपायहरू अघि बढाइरहेको जानकारी दिए । जोखिम न्यूनीकरण गर्दै जलवायु सहनशील संरचना निर्माण गर्नु गाउँपालिकाको प्राथमिकता रहेको बताउँदै, स्थानीय बासिन्दालाई विपद् न्यूनीकरण तथा पूर्वतयारीका कार्यक्रमहरूसँग जोडेर सचेतना अभिवृद्धि गरिरहेको बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा अधिकारीहरूले छलफलका मुख्य बुँदाहरूलाई तत्कालीन कार्यसूचीमा राख्ने तथा गाउँपालिकाको बैठकमा विस्तृत छलफल गर्ने सहमति जनाएका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।