महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ५ का  किसानहरुलाई कफी उत्पाद किसानहरुलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रम अन्तर्गत किसानलाई तालिम दिएको हो ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विकास कार्यालय धुलिखेलको सहयोग तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिको समन्वयमा सो तालिमको आयाेजना गरिएकाे थियाे । तालिम मंगलबार एक समाराेहकाबीच समापन गरिएकाे छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न प्रसाद ढकालले किसानहरुले गर्दै आएको कृषि उत्पादनमा थप विकास गर्दै लैजाने उद्धेश्यले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको बताए । उनले महाभारत गाउँपालिका भौगोलिक हिसाबले कफी उत्पादनको सम्भावना धेरै रहेको र किसानहरुले पनि नगदे बालीको रुपमा खेती गर्दै आएको कारण यस पालिकालाई प्राथमिकतामा राखेको धारणा राखे । उनले कृषि पर्यटनको समेत सम्भावना बोकेकाे महाभारत गाउँपालिकाको चौतर्फी विकासको लागि आफू लागिरहेकाे बताए ।

यसैबीच गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाको पहिलो आवश्यकता बाटो र विजुली रहेकोमा त्यसलाई पूरा गरेर अहिले नागरिकको जीवनस्तर माथि उठाउन उत्पादनमा जोड दिएको बताए । त्यही योजना अनुसार अहिले गाउँकार्यपालिकाको निर्णयबाट पालिकाको वडाहरुमा कुन क्षेत्रमा के उत्पादनको सम्भावना छ भनेर गरेको माटो परीक्षणको आधारमा वडा नं ५ मा कफी उत्पादन र वडा नं १ र २ मा बाख्रापालनको सम्भावना देखिएपछि त्यही अनुसार काम गरिरहेको बताए ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकोमा यसवर्ष किसानहरुले गर्दै आएको कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व बृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम प्रदान गरेको बताए ।

कार्यक्रममा महाभारत गाउँपालिका कृषि शाखाका प्रमुख खिम डाँगी, केन्द्रिय कफी उत्पादक सहकारी संघका अध्यक्ष तुलसीराज धिताल, वडा नं. ५ का वडा अध्यक्ष विजय राना मगर, महाभारत साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष हस्त बहादुर दर्लामी लगायतले मन्तव्य राखेका थिए ।

सो क्रममा ९० जना किसानलाई तिन दिने कफी उत्पादन र प्रशोधन प्रविधि तालिम प्रदान गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।