खानीखाेला– काभ्रे जिल्ला खानीखोला गाउँपालिका, वडा नं ५ ताल्ढुंगा स्वास्थ्य चौकीमा आज बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविर रेयुकाई एईको मासुनागा अस्पताल बनेपाको प्राविधिक सहयोग र खानीखोला गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ र विशेष अतिथिका रुपमा गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा उपस्थित थिए। उनीहरूका साथमा अन्य गाउँपालिका कर्मचारीहरूको समेत उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष  थिङले कार्यक्रमको उद्घाटन गर्दै गाउँमा स्वास्थ्य सेवामा सुधार ल्याउने र आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त आँखा शिविरमा कुल १४६ जना स्थानीय बासिन्दाले निःशुल्क आँखा जाँच र उपचारको लाभ उठाए । शिविरमा २७ जनामा मोती बिन्दु पहिचान गरिएको थियो, जसको उपचारका लागि थप कदम चाल्न सुझाइएको छ।

यस कार्यक्रममा स्थानिय बासिन्दाले आँखा स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरू पाएका छन्। स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि यस किसिमका शिविरहरू आयोजना गर्दै खानीखोला गाउँपालिका सक्रिय रहनु भनेको स्थानीय समुदायको स्वास्थ्य सुधारको लागि एक महत्वपूर्ण कदम रहेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।