धुलिखेल– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा न‌ं. ८ स्थित होटल भ्यु एण्ड पाहुना घरको दोस्रो तल्लामा रहेको कोठा नं. ११५ मा मृत अवस्थामा फेला परेकी शर्मिला श्रेष्ठको हत्या मुद्दामा फरार रहेको आरोपित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यलाय काभ्रेका अनुसार पक्राउ पर्नेमा जिल्ला रामेछाप खाँडादेवी गा.पा. २ का घण सिङ बुढाथोकीका २७ वर्षीय छोरा भरत बुढाथोकी हुन् ।

गत फागुन १५ को अन्दाजी १८:०० बजेको समयमा श्रेष्ठको मृत शरीर उक्त कोठामा भेटिएको थियो।

बनेपा नगरपालिका ६, बुडोल निवासी वासुदेव श्रेष्ठको छोरी शर्मिला मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, यो घटना कर्तब्य ज्यानको मुद्धा थियो। हत्या आरोपमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको थियो। घटनापछि फरार रहेको आरोपीलाई पक्राउ गर्न काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाबाट सिभिल टोलीलाई परिचालन गरिएको थियो।

गोप्य सूचनाको आधारमा चैत्र १४ गते १३:४५ बजे, प्रहरीले आरोपीलाई पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. १६ स्थित बिरगंज भन्सार कार्यालय गेट अगाडि रक्सौलबाट नेपालको बिरगंज तर्फ आउँदै गर्दा बुढाथोकी पक्राउ गर्न सफल भएको हो।

पक्राउ गरिएपछि, आरोपीलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको लागि निवेदन गरिएको थियो। अदालतले आरोपीको हकमा पाँच दिनको म्याद थप अनुमती दिएको छ। प्रहरीले थप अनुसन्धान कार्यलाई तीव्रता दिँदै घटनामा संलग्न अन्य व्यक्तिहरूसँगको सम्बन्धको पत्ता लगाउने प्रयास जारी राखेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।