काठमाडौं, २०८१ चैत्र २० – थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
२०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अघि बढाइएको थियो। बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो।
बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे। कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
चिरन राईको नेतृत्वमा सञ्चालित यो अभियान विद्यालयका विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने महत्वपूर्ण पहल भएको छ। भवन निर्माण कार्यलाई सफल बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा युवा समाजसेवी इश्वर लामाले समन्वयकारी भूमिका खेलेका थिए।
कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै विद्यालय भवन निर्माणमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
समारोहमा बोल्दै चिरन राईले यूकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगप्रति आभार व्यक्त गर्दै नेपालमा विद्यालय क्षेत्रमा योगदान दिन पाउँदा हर्षित भएको बताए। साथै, उनले भविष्यमा पनि नेपालका शैक्षिक संस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।