धुलिखेल– काभ्रे जिल्लाको बनेपामा रहेको एक नेवारी खाजा घरमा दुई युवा लागू औषधसहित पक्राउ परेका छन् । बनेपा नगरपालिका–७ चादनी चोक स्थित नेवारी खाजा घरमा लागू औषध पोल्याण्ड ५ केजि १०० ग्राम सहित धुलिखेलका दुई युवालाई सशस्त्र प्रहरी बल नेपालको ईन्टिलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ बस्ने वर्ष २८ को अमृत भण्डारी र धुलिखेल नगरपालिका–४ बस्ने वर्ष ३० को श्रीकृष्ण सत्याल रहेका छन् । उता, सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागूऔषधसहित चैत्र २७ गते तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगंज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागूऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।
नियन्त्रणमा लिईएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।