काठमाडौं । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको नयाँ गीत ‘क्या राम्रो हाँस्यो’ भिडियोसहित सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा विविध र मौलिक शैलीका गीतहरू एकपछि अर्को सार्वजनिक भइरहेका बेला शेर्पा र तामाङ संस्कृतिमा आधारित यस गीतले छुट्टै पहिचान बनाएको छ।
उत्तम पौडेलको शब्द र लाक्पा तेन्जि शेर्पाको संगीत रहेको गीतमा लाक्पा तेन्जि शेर्पा र चर्चित गायिका सुमिना लोको आवाज रहेको छ। कोरसमा राजकुमारी कार्की, रोशनी रसाइली र बिन्दु बिसीको स्वर समावेश छ।
गीतको भिडियोतर्फ कृष्ण ब्लोनको निर्देशनमा पाल्देन लामा र अस्मिता तामाङले मुख्य अभिनय गरेका छन्। कोरस नृत्यमा छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरिङ शेर्पा, सुस्म लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङले आफ्नो प्रस्तुति दिएका छन्।
भिडियोमा शेर्पा र तामाङ समुदायको भेषभूषा र मौलिक संस्कृति झल्कने दृश्यहरूलाई विशेष जोड दिइएको छ। गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाका अनुसार “गीतमा शेर्पा केटा र तामाङ केटीबीचको रमाइलो ठट्यौली शैली प्रस्तुत गरिएको छ।”
उनी लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील एक कुशल कलाकार हुन्। यसअघि ‘काङ्लाङ र कुङ्लुङ गाउँ जाने बाटो (मज्जाले नाचौंला)’, ‘नम्बरी सुन’ जस्ता चर्चित गीतमार्फत सफलता कमाइसकेका लाक्पा तेन्जिले यसपटक तामाङ–शेर्पा संस्कृतिलाई उचाल्ने उद्देश्यले ‘क्या राम्रो हाँस्यो’ बजारमा ल्याएका हुन्।
भिडियो छायांकन, सम्पादन र रंग सम्पादनको सम्पूर्ण जिम्मेवारी निर्देशक कृष्ण ब्लोनले नै सम्हालेका छन्। गीत र भिडियो दुवैले समाजको मौलिकता झल्काउँदै मनोरञ्जनसहित सांस्कृतिक पहिचानको संरक्षणमा टेवा पुर्याउने विश्वास गरिएको छ।