तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाका ७२ जना नागरिकले निःशुल्क शल्यक्रियाको सुविधा पाएका छन् । वैशाख ११ र १२ सञ्चालन भएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरबाट उनीहरुले आफ्नै गाउँमा सेवा लिएका हुन् ।

तेमाल गाउँपालिका र तिलगंगा आँखा अस्पतालको आयोजनामा साथै गुड भिजन जर्मनको सहयोगमा सो शिविर सञ्चालन भएको थियो । स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार शिविरबाट निःशुल्क मोतिबिन्दुको शल्यक्रिया ६९ जना, आँखामा मासु पलाएको शल्यक्रिया २ जना र आँखाको लिड भित्र पसेको शल्यक्रिया १ जना गरि जम्मा ७२ जनाको सफल शल्यक्रिया भएको छ ।

शिविरको उद्घाटन र समापन गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले गरेका थिए । निर्वाचनको क्रममा आफू गाउँमा पुग्दा आँखाको समस्या बोकेका बुबाआमाहरुलाई भेटेको प्रसंग निकाल्दै अध्यक्ष तामाङले ती आमाबुबाहरुसँग आँखाको उपचार गरिदिने प्रतिबद्ध जनाएबमाेजिम शिविरको सञ्चालन गरेकाे बताए । उनले आँखा जचाउन अब काठमाडौं धाउनु नपर्ने बताउँदै तेमालबाससीकै सुविधाको लागि गाउँपालिकामै आँखा उपचार केन्द्र स्थापना गरिएकाे बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक, संस्थाका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरुको सहभागीता थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।