भक्तपुर । भक्तपुरमा पहिलोपटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १९ र २० गते भक्तपुरको जगातीमा भव्य प्रतियोगिता गर्ने तयारी रहेको जानकारी दिएको हो।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। आयोजक संघ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारका अनुसार, प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू छानिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिनेछ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्ड (WAKO) अनुसार सञ्चालन हुनेछ। K-1 नियमावली अनुरूप हरेक बाउट ३ राउन्डको हुनेछ र प्रत्येक राउन्ड २ मिनेटको समय निर्धारण गरिएको छ।

११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धा हुने यो प्रतियोगितामा, पुरुषतर्फ ५१ केजीदेखि खुल्ला तौलसम्म र महिलातर्फ ५२ केजीदेखि खुल्ला तौल वर्गसम्म प्रतिस्पर्धा गरिनेछ। साथै, २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) विशेष आकर्षणको रूपमा राखिएको छ।

खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक खेलाडीका लागि रु. २ लाखसम्मको बिमा व्यवस्था गरिएको संघका सचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिनेछ। आयोजकहरूको विश्वास छ— यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता तिखार्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त बनाउनेछ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।