काठमाडौं – तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अन्तर्गत बागमती प्रदेश समितिले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन आगामी २०८२ साल बैशाख २० गते, शनिबार काठमाडौंमा आयोजना गर्ने भएको छ।

ड्रिम हाउस ब्याङ्क्वेट, नयाँ बस्ती काठमाडौं (एभरेष्ट पेट्रोल पम्प नजिक) मा आयोजना हुने अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

अधिवेशनमा संगठनका केन्द्रीय नेताहरु, बागमती प्रदेशका तमाम प्रतिनिधिहरू तथा विशेष अतिथिका रूपमा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ। यस् अधिवेशनलाई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिने तामाङ राष्ट्रिय मुक्तिमोर्चा वाग्मती प्रदेशको संयोजक कर्म लोपसाङ लामाले जानकारी दिएको छ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले विगतदेखि नै तमाङ समुदायको हकअधिकार र पहिचानको संरक्षण तथा सशक्तीकरणका लागि विभिन्न आन्दोलन तथा कार्यक्रमहरू गर्दै आएको छ। यही क्रमलाई संस्थागत गर्दै बागमती प्रदेशस्तरीय संगठन सुदृढीकरण र भावी कार्यदिशा तय गर्ने उद्देश्यले पहिलो अधिवेशन आयोजना गरिएको हो।

कार्यक्रममा तमाङ जातिको मौलिक संस्कृति झल्काउने झाँकी र चित्रण देखाइएको छ। डम्फु र तमाङ नृत्यलाई पनि अधिवेशनको मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसले तमाङ समुदायको सांस्कृतिक गर्वलाई उजागर गर्छ।

साथै, अधिवेशनमा तमाङ समुदायको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक सवालमा विशेष प्रस्तावहरू ल्याइने र बहस गरिने कार्यक्रम रहेको छ। नयाँ नेतृत्व चयन गर्दै आगामी रणनीति र कार्ययोजना निर्माण गर्ने अधिवेशनको मुख्य उद्देश्य हो।

विद्यमान परिस्थितिमा तमाङ समुदायले भोगिरहेको भौगोलिक, आर्थिक र सामाजिक असमानताको अन्त्य गर्न प्रदेशस्तरीय अभियान कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि विशेष छलफल गरिनेछ।

मोर्चाले सामाजिक न्याय, समानता र तामाङ समुदायको स्वतन्त्र पहिचानका पक्षमा आफ्नो संघर्ष जारी राख्ने उद्घोष गर्दै आएको छ। बागमती प्रदेश समितिको यो पहिलो अधिवेशनले संगठनात्मक सबलीकरणका साथै तमाङ जनताको साझा आवाजलाई थप प्रष्ट र दृढ बनाउने अपेक्षा गरिएको छ।

मोर्चाका पदाधिकारी र सदस्यहरुले अधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा लिएर आगामी दिनमा समुदायको हकहितका लागि अझ प्रभावकारी ढंगमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।