भिक्टोरिया, मेलबर्न – तामाङ सोसाइटी अफ भिक्टोरिया (TSV) ले हालै सम्पन्न साधारणसभाबाट २०२५–२०२७ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ। संस्थापक सदस्य बम योञ्जनको सभापतित्वमा गत अप्रिल २५ तारिख सम्पन्न सो साधारणसभामा बबी लामा नयाँ अध्यक्षका रूपमा चयन हुनुभएको छ।

सोसाइटीको इतिहासमै पहिलोपटक महिलाले नेतृत्व सम्हालेको यस अधिवेशनमा, महिला र पुरुषको समान सहभागिता सुनिश्चित गरिएको संस्थाले जनाएको छ। यसले संस्थामा लैङ्गिक समानताको सम्मान भएको संकेत दिएको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. सम्दिप पाख्रीन र चित कुमार लामा, महासचिवमा धन तामाङ, कोषाध्यक्षमा कृपा लामा, संस्कृति संयोजकमा हिरा बम्जन, युवा संयोजकमा सतिश लामा, सह-संयोजकमा अश्मिता तामाङ, खेल संयोजकमा बिकास लामा तथा सह-संयोजकमा सुस्मा लामा रहेका छन्।

त्यस्तै सदस्यहरूमा निरज लामा, विकल्प लामा घिसिङ, रिनु मोक्तान, खुसाङ पाख्रीन, सुमन लामा र लाक्पा लामा चयन भएका छन्।

साधारणसभामा संस्थाका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो भने, पूर्वअध्यक्ष मनिष लामाले अघिल्लो कार्यकालको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

सन् २००८ मा स्थापना भएको तामाङ सोसाइटी अफ भिक्टोरिया (TSV) को आफ्नै विशेष इतिहास रहेको छ। स्थापना कालमा तामाङ समुदायको संख्या अत्यन्तै न्यून हुँदाहुँदै पनि, भाषा, धर्म, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि यो संस्था गठन गरिएको थियो।

संस्थापक सदस्य बम योञ्जनले संस्थाको स्थापना उद्देश्यको स्मरण गराउँदै, नयाँ नेतृत्वलाई समुदायको हितमा अझ सशक्त कार्य गर्न शुभकामना दिनुभयो।

तामाङ सोसाइटी अफ भिक्टोरिया विगतदेखि नै भिक्टोरियास्थित तामाङ समुदायबीच एकता, पहिचान, संस्कृति संरक्षण र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको छ। नयाँ कार्यसमितिसँगै संस्था अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।