काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार रहेको बताएका छन् । विश्व मजदुर दिवस (मे १)को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष गर्नुपरिरहेको अवस्था छ । यो सन्दर्भमा निरन्तर श्रमजीवी वर्गको नेतृत्वदायी प्रतिनिधित्व गर्दै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार हो । अहिले एकातिर प्रतिगामी तत्वहरुसँग संघर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले भने ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै नेपाल लगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु ।’ सन्देशमा भनिएको छः ‘नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो ।’
अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान रहेकाे बताउँदै बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बन्नु, यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गर्नु नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुने बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























