काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै दुरगामी महत्वका योजनामा सरकारले कै‌ची चलाएको बताएका छन् । आज संसदमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

“समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रको विकास अनिवार्य हो, तर सरकारले यी क्षेत्रका दीर्घकालिन महत्वका योजनाहरु हटाइदिएको छ। मेक इन नेपाल र मेड इन नेपालको सोचलाई अघि सार्ने योजनाहरु हटाइए, जसले उद्यमशीलता र स्वरोजगारको प्रवद्र्धन गर्दथ्यो।” उनले भने, “स्थानीय श्रोतमा आधारित उद्यमशीलता विकास, पारम्परिक हस्तकला प्रवद्र्धन र निर्यात जस्ता योजनाहरु सरकारले हटाइदिएर आफ्नो राष्ट्रिय दृष्टिकोणको कम्जोरी प्रदर्शन गरेको छ। सुदुरपश्चिमको मेगा फूड पार्क, कर्णालीको खाद्य र फलफूल प्रशेधन केन्द्र लगायतका दीर्घकालिन योजनाहरु पनि हटाइएका छन्।”

प्रचण्डले अत्यन्तै मेहनत र भिजनका साथ अघि सारिएका गण्डकी त्रिभुज परियोजना, आइटी दशक, सार्वजनिक सेवाहरूको डिजिटलाइजेसनका लागि ब्लूप्रिन्ट, नागरिक सेवा केन्द्र, निजगढ–ढल्केबर, नेपाली गलैंचा करिडोर स्थापना, कोशेली घर, एक पालिका एक डाउनटाउन, गाँजाको व्यवसायिक उत्पादन, हिल स्टेशन, प्रदेशको विशिष्टताका आधारमा आर्थिक उत्पादनको नयाँ मोडेल लगायतका कैयन नीति तथा कार्यक्रमहरु सरकारले रछ्यानमा मिल्काएको छ। यससँगै, महिलाहरुका लागि प्रधानमन्त्री छोरी कार्यक्रमदेखि जेष्ठ नागरिकहरूको हक अधिकारका लागि अघि सारिएका नीतिहरू पनि निरन्तरता पाउन नसकेको बताए ।

प्रचण्डले सरकारको आर्थिक विकासको योजना माथि गम्भीर प्रश्न उठाउँदै भने, “तपाईंहरूले विकासको ढाँचामा कोर्स करेक्सन गर्ने कुरा गरेका थिए, तर कुन कार्यक्रमका लागि, कसको हितका लागि करेक्सन गरियो? यी योजनाहरूको हटाउनु भनेको अर्थतन्त्रको स्थायीत्व र समृद्धिका लागि हानि गर्नु हो।”

“महिलाका लागि प्रधानमन्त्री छोरी कार्यक्रम र जेष्ठ नागरिकको अधिकार सम्बन्धी नीतिहरू पनि निरन्तरता पाउन सकेनन्। यस्ता योजनामा कैंची चलाएर सरकारले कसलाई फाइदा पुर्याइरहेको छ?” प्रचण्डले सरकारलाई चेतावनी दिंदै भने, “दुई तिहाइको अहंकारले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको छ र त्यसको प्रतिबिम्ब नीति तथा कार्यक्रममा स्पष्ट देखिन्छ।”

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।