भक्तपुर । मायाको अनुभूति केवल शब्दमा होइन, संगीत र दृश्यमा पनि पोखिन्छ भन्ने उदाहरण बनेको छ— ‘विगतको कुरा’ बोलको नयाँ तामाङ म्युजिक भिडियो। युवा व्यवसायी तथा समाजसेवी श्यामलाल योञ्जनको प्रस्तुतिमा तयार पारिएको यो प्रेमगीत शुक्रबार भक्तपुर सुर्याविनायको एक होटलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो।

कार्यक्रममा चर्चित उत्प्रेरक व्यक्तित्व विकासदेव योञ्जनको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा माविन योञ्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन पत्रकार सुदिन दोङले गरेका थिए।

‘विगतको कुरा’ मायामा बाँचेका भूतपूर्व सम्झनाहरूको कथा हो। यस गीतले सम्बन्धमा बाँधिएका दुई हृदयबीच समयले ल्याएको टाढोपन, प्रेमको अवशेष, र त्यसले बनाएको गहिरो प्रभावलाई कलात्मक ढंगले प्रस्तुत गर्छ। मायामा केवल साथ होइन, सम्झनाको गहिराइ पनि महत्त्वपूर्ण हुन्छ भन्ने भाव गीतले दर्शाउँछ।

गीतमा श्यामलाल योञ्जनका शब्द, कविन योञ्जनको संगीत, र चर्चित गायक तथा संगीतकार जोगलाल लामा र गायिका जितु लोप्चनको सुमधुर स्वर रहेको छ, जसले गीतलाई भावनात्मक उचाइमा पुर्‍याएको छ।

भिडियो पक्षमा पनि उत्तिकै सशक्त योगदान छ। भिडियो विकासदेव योञ्जनको निर्देशनमा तयार पारिएको हो, जसमा मोडल श्यामलाल योञ्जन र सविता घिसिङको प्रमुख अभिनय रहेको छ। मायाको मिठास र पीडाको संयोजन प्रस्तुत गर्ने भिडियोको छायांकन, इडिट र कलर कविन योञ्जनले गरेका छन्। ड्रोन क्याप्टेन दावा लामा मोक्तान र कोरियोग्राफर उमेश खड्गीले पनि भिडियोको सौन्दर्यमा थप निखार ल्याएका छन्।

अडियो एरेञ्ज जोगलाल लामाले र मिक्सिङ दिपेश प्रधानले गरेका छन्। गीत श्यामलाल योञ्जनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित कलाकार, पत्रकार र व्यक्तित्वहरूको उपस्थिति रहेकाले यो सिर्जना सामाजिक तथा सांस्कृतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण बन्न पुगेको छ।

‘विगतको कुरा’ केवल गीत होइन, त्यो त मायाको कहिल्यै नसकिने संवाद हो— जुन हृदयमा अनन्तसम्म गुञ्जिरहन्छ।

भिडियो हेर्नुहोस् र अनुभव गर्नुहोस् मायाको अन्तरकथा।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।