काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल), नेपाल तेमाल गाउँपालिकामा विगतदेखि नै सक्रिय रहेको संगठनलाई थप सुदृढ बनाउँदै हालै सम्पन्न तेस्रो ऐतिहासिक सम्मेलनबाट सुसन लामाको अध्यक्षतामा पुनः ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
कमिटीलाई संस्थागत सुदृढीकरण, सांगठनिक नवीकरण र भावी राजनीतिक हस्तक्षेपलाई ध्यानमा राख्दै विशेष जिम्मेवारीसहित पुनः संरचित गरिएको हो । तेमाल गाउँपालिका–५ नारायणस्थानमा सम्पन्न सम्मेलनले लामालाई अध्यक्षको जिम्मेवारी दिँदै अनुभवी तथा ऊर्जाशील युवाहरूको समायोजनमार्फत संगठनलाई अझ प्रभावशाली बनाउने लक्ष्य लिएको छ ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष आक्रोश लामा, दप्साङ लामा, सम्झना तामाङ, सचिव अविरल तामाङ, सह–सचिव मिलन तामाङ, सुन्दर तामाङ तथा कोषाध्यक्ष रोशन तामाङ सहित ३१ जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा तेमाल गाउँपालिकाका उपाध्यक्ष एवम् माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य डिएम लामा, पार्टी इन्चार्ज समीर तामाङ र वाइसीएल केन्द्रीय सचिव अभिलास तामाङको विशेष उपस्थिति थियो ।
कार्यक्रममा उपाध्यक्ष डिएम लामाले वाइसीएलजस्ता संगठनहरूलाई केवल राजनीतिक उपस्थिति नभइ, सामाजिक न्याय र समावेशी लोकतन्त्रको रक्षाका लागि अग्रपंक्तिमा खटिनुपर्ने आवश्यकतालाई जोड दिए । “राजतन्त्र र प्रतिगमनको सपना देख्नेहरूलाई जवाफ दिन वाइसीएलले जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ,” उनले भने ।
त्यस्तै, युवा नेता योङ कम्युनिस्ट लिग (वाइसीएल), नेपालका सचिव अभिलास तामाङले पछिल्लो पुस्ताका युवाहरूमा माओवादी आन्दोलनबारे नियोजित रुपमा भ्रम फैलाउने प्रयास भैरहेको भन्दै वाइसीएलले सही दृष्टिकोण र क्रान्तिकारी चेतनालाई पुनर्स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे ।
विगतमा गठन भएर पनि सांगठनिक निरन्तरता, प्रशिक्षण र स्थानीय मुद्दामा स्पष्ट उपस्थितिको आवश्यकता महसुस गर्दै तेमालमा गरिएको यो सम्मेलनले वाइसीएलको राजनीतिक हस्तक्षेपलाई नयाँ धार दिनसक्ने अपेक्षा गरिएको छ ।