धुलिखेल– जिल्ला प्रहरी कार्यालय, काभ्रेका नयाँ प्रमुख एसपी कोमल शाहले जिल्लामा तस्करी, गुडागर्दी र आर्थिक लेनदिन हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । आज जिल्लामा रहेका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
‘कुनै पनि प्रकारका तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा सझौता गर्दिन । जिल्लामा पूर्णरुपमा शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्दिन ।’ एसपी शाहले पत्रकारहरुसँग कुरा गर्दै भने ।
एसपी शाहले जिल्लामा व्याप्त तस्करी र गुडागर्दी एवं आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई प्रहरीको कब्जामा ल्याएरै छाड्ने बताए । चोरी तस्करी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलतामा बसेर आफू काम गर्ने उनको भनाई थियो ।
‘नेपाल प्रहरीभित्र कुनै पनि छवि बिगार्ने कोही भेटियो भने त्यस्तालाई तत्काल कारबाही गर्ने छु ।’ उनले भने, ‘म कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम’ लाई मूल नारा मानी त्यसैभित्र रहेर आमनागरिकलाई भयमुक्त वातावरणमा सेवा दिन अहोरात्र खटेर शान्ति सुरक्षाको प्रत्याभूत गराउनेछु ।’
बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न मापसे चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाउने समेत शाहले बताए । अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताको उत्तिकै सहयोग प्रहरी संगठनलाई चाहिने उनको भनाइ थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।