काभ्रे । नेपाली सेना श्री नं. २६ वाहिनी अड्डाको आयोजनामा “वाहिनीपति कप” प्रतियोगिता काभ्रेको धुलिखेलमा सुरु भएको छ ।“वाहिनीपति कप” प्रतियोगिताको उद्घाटन वाहिनीपति स.र. निर्जल बहादुर अधिकारीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा श्रीमेहर गण धुलिखेल र इन्द्रध्वज गण चैताराको फुटबल टिमबीच प्रतिस्पर्धा भएको उक्त खेलमा श्रीमेहर गण धुलिखेलले इन्द्रध्वज गण चैतारालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता जेठ ४ गतेदेखि सुरु भई जेठ ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, टेकेण्डो र बक्सिन गरी सात विधाका खेल समावेश गरिएको छ । प्रतियोगिताले नेपाली सेना भित्रको आन्तरिक खेलकुद गतिविधिलाई चलायमान बनाउनुका साथै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने वाहिनीपति स.र. निर्जल बहादुर अधिकारीले बताए । उनका अनुसार फौजको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, जिम्मेवारीप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले वाहिनीपति कपको आयोजना गरिएको हो । प्रतियोगितामा वाहिनी मातहत गणका महिला र पुरुष गरेर २ सय जना खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।