बनेपा- आज दिउँसो करिब १६:३० बजे, काभ्रेको नगरपालिका–१४ साँगा चोकस्थित सडकमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकजाँच टोलीले स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गत प्रहरी नायव उपरीक्षक (प्र.स.नि.) भगवान अधिकारीको कमाण्डमा खटिएको टोलीले सो कार्यवाही गरेको हो।
प्रहरीका अनुसार, पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस (बा ३ ख २४१६ नम्बर) मा सवार एक युवकको साथबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको हो। सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ निवासी आनन्दलाल धमलाका २१ वर्षीय छोरा राजन धमालाले बोकेको रातो जेब्रा झोलाभित्र लुकाइछिपाई राखिएको नगद २५ लाख रुपैयाँ फेला परेको जनाइएको छ।
घटनास्थलमै सोधपुछ गर्दा राजन धमालासँगै रहेका अर्का व्यक्ति सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहा समेत शंकास्पद भेटिएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, काभ्रेमा ल्याएर थप अनुसन्धान भइरहेको छ। स्रोत नखुलेको ठूलो परिमाणको नगद फेला परेको भन्दै प्रहरीले रकमको स्रोत र प्रयोजनबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।