धुलिखेल-  काभ्रेप जिल्ला  बनेपा नगरपालिका–७, परिवार नियोजन चोकमा अवस्थित मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरबाट अवैध रूपमा सुनचाँदीको गहना निर्माण र कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी ठूलो मात्रामा गरगहना र नगद रकमसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

जेठ ७ गते बिहान करिब ११:०० बजे, काभ्रे प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेको नेतृत्वमा खटिएको टोलीले उक्त ज्वेलर्स सेन्टरमा छापा मारेको थियो। छानबिनका क्रममा, सो ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल, मदनपुर जिल्ला, पसवाई ग्राम पञ्चायत, दासपुर थानाका ४७ वर्षीय दिपंकर मैतीको कोठाबाट सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न प्रकारका गरगहना जम्मा ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५,३१० र नेपाली रुपैयाँ १,२१,००५ समेत बरामद गरिएको हो।

सो अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरु पनि पक्राउ परेका छन्। पश्चिम बंगाल, मेदिनिपुर, निजामपुर घर भई हाल पाँचखाल नगरपालिका–४ बस्दै आएका ३० वर्षीय सुमन सासमोलको साथबाट २३.०८ ग्राम सुन जस्तो देखिने टुक्रा बरामद गरिएको छ। त्यस्तै, जोतभन्साम घर भई बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय ऋषिकेश गोड्सेको कोठाबाट चाँदी जस्तो देखिने धातु ३२७.७५० ग्राम फेला परेको छ।

अन्य पक्राउ परेका व्यक्तिहरुमा भारतकै २२ वर्षीय विजय घोराई र ३८ वर्षीय दिपंकर साउ रहेका छन्। उनीहरुलाई बरामद गरिएका गरगहना र नगदसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ।

यसैगरी गत जेठ ६ गते स्रोत नखुलेको नेपाली रुपैयाँ २५ लाख (पच्चिस लाख) बरामद भएको अर्को घटनामा पनि प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। सो घटनामा संलग्न व्यक्ति सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमला र सप्तरी जिल्ला, छिनमस्त गाउँपालिका–६ बस्ने ३८ वर्षीय संजय कुमार साह रहेका छन्। उनीहरुलाई पनि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, बरामद गरगहना र नगद रकम अवैध स्रोतबाट आएकाको आशंका गरिएको छ। यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने यस्ता अवैध कारोबारमा संलग्न अरु व्यक्तिहरुको पहिचान तथा अनुसन्धान कार्य पनि तीव्र पारिएको छ।

प्रहरीले बजार क्षेत्रमा सञ्चालनमा रहेका ज्वेलर्स तथा सन्देहजनक वित्तीय कारोबारमाथि निगरानी बढाउने र कर छली तथा अवैध कारोबारमा संलग्नहरुलाई कडाइका साथ कारबाही गर्ने जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।