क्विन्सल्याण्ड, अष्ट्रेलिया — अष्ट्रेलियाको प्रवासी भूमिमा तामाङ समुदायको भाषा, संस्कृति र पहिचानलाई संस्थागत रूपमा जगेर्ना गर्न लक्ष्य राख्दै तामाङ सोसाइटी अफ क्विन्सल्याण्ड (Tamang Society of Queensland) औपचारिक रूपमा गठन भएको छ। २०२५ मे २१ मा आधिकारिक रूपमा दर्ता भई मान्यता प्राप्त यस संस्थाको प्रथम कार्यसमिति २०२५–२०२७ कार्यकालका लागि चयन गरिएको हो।

नवगठित संस्थाको अध्यक्षमा उत्साही युवा नेतृत्व विजय तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा सुर्य लामा, कोषाध्यक्षमा सविन लामा ब्लोन र सह–कोषाध्यक्षमा अनिता ब्लोन तामाङ चयन भएका छन्।

संस्कृतिक पक्षलाई सशक्त बनाउने जिम्मेवारी पवन लामा (संयोजक) र विशाल तामाङ गोङ्बा (सह–संयोजक) ले सम्हाल्ने छन्। युवा संयोजकको रुपमा सविन लामा स्याङ्तान र सह–संयोजकमा कर्मा लामा चयन भएका छन्।

कार्यसमिति सदस्यमा राज तामाङ, अभिषेक तामाङ, विमला तामाङ, सुरेश ब्लोन तामाङ र सरोज (अइका) लामा रहेका छन्।

संस्थापक अध्यक्ष विजय तामाङको नेतृत्वमा गठन भएको यस संस्थाले अष्ट्रेलियामा बसोबास गरिरहेका तामाङहरूलाई एकताबद्ध गर्दै, आफ्नो मौलिक संस्कृति, धर्म, भाषा र चाडपर्वहरूको संरक्षण र प्रवर्द्धन गर्ने मूल उद्देश्य बोकेको छ। यस संस्थाले समावेशी सहभागिता, लैङ्गिक समानता र युवा नेतृत्वको पहिचानलाई प्राथमिकता दिँदै समाजमा सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

तामाङ समाजको आवश्यकता, आकांक्षा र सामूहिक लक्ष्यलाई सम्बोधन गर्ने दीर्घकालीन योजना तय गर्दै संस्था अगाडि बढ्न प्रतिबद्ध देखिएको छ। प्रवासमा जन्मिएको यो सामाजिक संस्था तामाङ समुदायका लागि आत्म–पहिचानको गर्विलो केन्द्र बन्ने विश्वास गरिएको छ।

तामाङको संस्कारले अष्ट्रेलियामा पनि उठ्नेछ गौरवको गर्जना।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।