काठमाडौं — काभ्रे तेमाल–९ निवासी क्यान्सर पीडित कुलबहादुर तामाङको जीवन रक्षाका लागि सुरु गरिएको “क्यान्सर पीडित कुलबहादुर तामाङ बचाउ अभियान–२०८२” मानवीय सहानुभूति र सामाजिक ऐक्यबद्धताको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको छ।
अभियानको सफलतासँगै संकलित रु. २९,२५,०८५ (उन्नाततीस लाख पच्चीस हजार पचासी रुपैयाँ) बराबरको सहयोग रकम एक विशेष कार्यक्रममा पीडितकी धर्मपत्नी कान्छीमाया तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
बौद्धस्थित सेकुवा जक्शनमा आयोजित पत्रकार सम्मेलन तथा सहयोग हस्तान्तरण एवम् अभियान समापन समारोहमा पूर्वमन्त्री तथा सांसद सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विशेष अतिथि तेमाल–९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल कल्तान, गायक तथा संगीतकार विश्व दोङ, प्रेरक वक्ता विकास देव योञ्जन तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, तामाङ मैलिङ व्हाईला न्हानका अध्यक्ष पोङ्दीला च्याङ्बा( सञ्जिव) अभिनेत्री रञ्जिता ब्लोन, मिस तामाङ अञ्जु थोकर, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा थुप्रै संघ–संस्था, अभियन्ता, कलाकार, पत्रकार र शुभेच्छुहरूको उल्लेखनीय सहभागिता थियो। सबैले यस अभियानलाई “समूहगत आत्मीयता र सामाजिक उत्तरदायित्वको अद्वितीय मिसाल” भन्दै प्रशंसा गरे।
संयोजक सुदिन लामा दोङले भावुक ढंगले सम्पूर्ण सहयोगदाताहरूलाई आभार प्रकट गर्दै भने, “यो हाम्रो सामूहिक संकल्प थियो – एउटा जीवन बचाउने पवित्र प्रयत्न।”
यो अभियान अब केवल आर्थिक सहयोगको सूची होइन, नेपाली समाजको मानवीय चेतनाको उज्यालो प्रतीक बनेर इतिहासमा अमिट रहन गएको छ।
बचाउ अभियानको संयोजक सुदिन लामाको संयोजकत्वमा सम्पन्न कार्यक्रम पत्रकार छेडुप लामाले सञ्चालन गरिएका थिए।
























