काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन आव्हान गरेका छन् । आज गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा गरेर १८ वर्षामा प्रवेश भएको उपलक्ष्यमा एक शुभकामना सन्देश दिदै अध्यक्ष प्रचण्डले यस्तो आव्हान गरेका हुन् ।
‘गणतन्त्र दिवसले हामी सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्था अनुरूप जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा भनिएकाे छ ।
के छ शुभकामना सन्देशमा ?
गणतन्त्र दिवसको शुभकामना
गणतन्त्र दिवस २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता तथा घाइते योद्धाहरूको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्दछु ।
नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ ।
हाम्रो पार्टीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा सञ्चालित महान् जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिहरूको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको छ । गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो । अहिले एकातिर सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन् । यो बेलामा यथास्थिति र प्रतिगामी दुबै खाले हर्कतका विरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ ।
अन्त्यमा, गणतन्त्र दिवसले हामी सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्था अनुरूप जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१५ जेठ, २०८२
नेपाल संवत्: ११४५ तछलाथ्वः ३.९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।