धुलिखेल- काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अशोक कुमार गौतमलाई चोरीसम्बन्धी मुद्दामा संलग्न रहेको आशंकामा जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद थपिएको छ। आज जिल्ला अदालत काभ्रे चार दिनको म्याद थप अनुमति लिएर प्रहरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि, २०८१ साल असोज ११ र १२ गतेको अबिरल वर्षाले रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–६ को सिमानामा रहेको पक्की पुल बगाएको थियो। बगाएको उक्त पुलमा प्रयोग गरिएका फलामका पाठपुर्जा चोरी भइ दुई वटा टिपर (बा ५ ख ४६२६ र बा २ ख ४००१) मा लोड गरिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले ती टिपर चालकहरू मानबहादुर तामाङ, रमेश लामा साथै कवाडी संकलक मन्टू कुमार र जितेन्द्र पासवानलाई घटनास्थलबाट पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि यस घटनामा वडा अध्यक्ष गौतमको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार, “घटनामा संलग्न सबैको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ। सार्वजनिक सम्पत्ति चोरीजस्तो गम्भीर मुद्दामा कसैलाई पनि उन्मुक्ति दिइने छैन।”

यस घटनाले स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूमाथि नैतिकता र जवाफदेहिताका गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरू घटनाप्रति चिन्तित देखिएका छन् र दोषी उपर कडा कारबाहीको माग गरिरहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।