धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित चिहानडाँडा नजिकै साँझ करिब ५:४० बजे एक सार्वजनिक बस दुर्घटनाको पूर्ण विवरण प्राप्त भएको छ । पनौती बसपार्कबाट बेथानचोक गाउँपालिका–६, मेदाम्चु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस सडकबाट चिप्लिएर झन्डै ३०–३५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनामा परी बनेपा नगरपालिका वडा नं. ९ निवासी अन्दाजी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा चालक, सहचालकसहित जम्मा सात जना सवार थिए ।
घाइतेहरुको विवरण यस प्रकार रहेको छः
१. राम प्रसाद ढुङगाना (४१ वर्ष) – बस चालक, स्थायी ठेगाना बेथानचोक गा.पा.–६, हात र खुट्टामा चोट लागेको छ। उनको उपचारको लागि शिर मेमोरियल अस्पताल, बनेपा पठाइएको छ।
२. संगीता आचार्य (३२ वर्ष) – स्थायी ठेगाना बनेपा नगरपालिका–९, दाहिने खुट्टामा सामान्य चोट लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।
३. सरगम तिमल्सिना (१ वर्ष) – संगीता आचार्यकी छोरी, टाउकोको बायाँ भागमा सामान्य चोट लागेको, उनलाई पनि धुलिखेल अस्पताल रिफर गरिएको छ।
सकुशल रहेका यात्रुहरुः
१. चेत बहादुर लामा (२७ वर्ष) – सहचालक, स्थायी ठेगाना बेथानचोक–६, कुनै चोटपटक नभएको र सकुशल रहेका छन्।
२. अञ्जना बोलाखे (१८ वर्ष) – बेथानचोक–६, दुर्घटनापछि सकुशल घर फर्किएकी छन्।
३. कोपिला तिमल्सिना (१८ वर्ष) – स्थायी ठेगाना अज्ञात, दुर्घटनापछि घर फर्किएकी छन्।
प्रहरीका अनुसार दुर्घटनास्थल प्रहरी चौकी ढुङखर्कबाट करिब २० किलोमिटरको दूरीमा पर्दछ। प्रारम्भिक अनुसन्धानमा बस चिप्लिएर दुर्घटना भएको अनुमान गरिएको छ भने विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहकार्यमा घाइतेहरुलाई तत्काल उद्दार गरि नजिकको स्वास्थ्य संस्थामा पठाइएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।