काठमाडौं, जेठ २२ – काभ्रे तेमाल गाउँपालिका–९ निवासी ४० वर्षीय सागर तामाङ घिसिङको विभत्स हत्या भएको पाँच दिन बितिसक्दा पनि प्रहरी अनुसन्धानको ढिलासुस्तीप्रति परिवारले गम्भीर असन्तुष्टि जनाएका छन्।

काठमाडौं महानगरपालिका–६, चुच्चेपाटी आरुबारीमा आइतबार साँझ १६ वर्षीय कुन्साङ नोर्वु शेर्पाद्वारा भएको भनिएको यो जघन्य अपराधपछि अनुसन्धान तत्काल प्रारम्भ भए पनि त्यसको गति र गहिराइप्रति पीडित परिवारको गुनासो चुलिएको छ।

हामी छाँयामा छौं, अपराधी किन अझैसम्म ढुक्क छ?” – परिवारको आवाज

मृतक सागर घिसिङका आफन्तले आरोप लगाएका छन् कि प्रहरीले अनुसन्धानमा तत्परता र संवेदनशीलता देखाउन सकेको छैन। साक्षी बयान, डिजिटल प्रमाण संकलन, शवको विस्तृत पोस्टमार्टम रिपोर्ट र अपराधको मनोवैज्ञानिक पाटोलाई समेत गम्भीर रूपमा नलिएर सामान्यरूपमा घटनालाई टुङ्ग्याउने प्रयास भइरहेको उनीहरूको भनाइ छ।

“हाम्रो घरको मान्छे निर्दयी तरिकाले मारेको छ। त्यो पनि आफन्तजस्तै मानिएको बच्चाले। हामी न्याय खोज्दैछौं तर प्रहरी भने रिपोर्ट लेखेरै थाक्छ। कहाँ हो अनुसन्धान?” – मृतकका दाजुको गहकिलो स्वर।

विश्वासघातमै आधारित जघन्य हत्या

सागर घिसिङले आठ वर्षदेखि कुन्साङ नोर्वु शेर्पा र उनको परिवारलाई आफ्नै सन्तानसरह माया गर्दै आएका थिए। यही आत्मीयता र विश्वासको आधारमा ब्लड टेस्ट रिपोर्ट लिन घर पुगेका घिसिङको त्यहीं हत्या भयो। प्रारम्भिक रूपमा सुनका गहनामा प्रलोभन देखिए पनि योजनाबद्ध हत्या हुन सक्ने परिवारको शंका छ। तर यस्ता कोणबाट अनुसन्धान नभएको उनीहरूको गुनासो छ।

“के आम नागरिकका लागि न्याय अझै सपना हो?”

पीडित परिवारले गुनासो गरेको छ कि प्रहरीले केवल औपचारिक प्रक्रिया पुरा गरिरहेको छ। “घटनाको एक एक पक्ष गम्भीर छ। तर प्रहरीको अनुसन्धान भने हलुका छ। हामी चाहन्छौं—यथार्थ निस्कियोस्, दोषी जेसुकै होस्, उसलाई उस्तै सजाय होस्।” मृतककी श्रीमतीले रोइकराई गर्दै भनिन्।

समुदायमा त्रास र अविश्वासको वातावरण

यस घटनापछि आरुबारी क्षेत्र र मृतकको गाउँ तेमालमा शोक र आक्रोश एकसाथ फैलिएको छ। चिरपरिचित आत्मीयता र विश्वासको आधारमा भएको यस्तो जघन्य अपराधले समाजलाई गहिरो मनोवैज्ञानिक आघात पुर्‍याएको छ। समुदायले प्रहरी प्रशासनसँग यथासिघ्र प्रभावकारी अनुसन्धानको माग गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न जोड दिएको छ।

“प्रहरीको भनाइ: “अनुसन्धान जारी छ”

प्रहरी वृत्त बौद्धले भने अनुसन्धान प्रक्रिया अन्तर्गत आवश्यक प्रमाण संकलन भइरहेको र कानुनी प्रक्रिया अघि बढिरहेको बताएको छ। “हामी संवेदनशील छौं। प्रमाणका आधारमा कारबाही अगाडि बढ्छ,” अनुसन्धान अधिकृतको भनाइ छ।

न्यायको बाटो कहिलेसम्म?

सागर घिसिङ हत्या प्रकरणले फेरि एक पटक देखाएको छ—जब अपराध भावनाको आडमा हुन्छ, त्यो झन् गहिरो घाउ बनिन्छ। र जब प्रहरी अनुसन्धान पनि फितलो देखिन्छ, त्यसले पीडामा रहेको परिवारलाई दोहोरो पीडा दिन्छ।

समाजले प्रश्न गरिरहेको छ– के आत्मीय सम्बन्ध र भरोसामा विश्वास गर्नु अब जोखिमपूर्ण बनिसक्यो? र, के न्याय अझै पनि प्रतीक्षाको विषय बनिरहनेछ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।