तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिका पूर्णखोप सुनिश्चिता घोषणा भएको छ । शुक्रबार एक समारोहका बीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेका हुन् ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीतापूर्ण खोप सुनिस्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ तेमालको सबै वडामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । तेमाल गाउँपालिकामा १ सय १३ जनाले पूर्णखोप पाएको पाठकले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले पूर्णखोप सुनिश्चित भएकोमा तेमाल गाउँपालिका र खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए । उनले साक्षत भगवान भनेकाे स्वास्थ्यकर्मीहरु भएकाे बताए ।
तेमालमा ७ वटा स्वास्थ्य चौकी र ७ वटा स्वास्थ्य इकाई रहेका छन् । स्वास्थ्य शाखा प्रमुख पाठकका अनुसार पूर्णखोप पाएका बालबालिकाहरुमा १ नं. वडामा १५ जना, २ मा १३ जना, ३ मा ९, ४ मा १३ जना, ५ मा १६ जना, ६ मा १३ जना, ७ मा ११ जना, ८ मा १८ जना र ९ मा ५ जना रहेका छन् ।
कार्यक्रम गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङकाे सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । अतिथिहरु गाउँपालिका उपाध्यक्ष दलमान थोकर, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका पूर्णखोप सुनिश्चितताको फोकल पर्सन पार्थमणी न्यौपाने, जिल्ला समन्वय समितिको शाखा अधिकृत भरत सापकोटा, १ नं. वडा अध्यक्ष इन्द्रबहादुर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, कार्यपालिका सदस्य मोहन माया सुनुवार रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।