सिजुओका, जापान –२०२५ जुन ८ गते, जापानको सिजुओका क्षेत्रमा नेपाल तामाङ समाजको प्रथम क्षेत्रीय अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
विप्रेषणको भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै आएका तामाङ समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संगठनात्मक यात्रालाई नयाँ गति दिएको छ।
अधिवेशनबाट विजय सागर योन्जनको अध्यक्षतामा नवगठित कार्यसमिति चयन भएको छ, जसलाई नेपाल तामाङ समाज, जापान केन्द्रद्वारा मान्यता प्राप्त गरिएको छ।
समितिको नेतृत्वमा रहेका पदाधिकारीहरू निम्नानुसार छन् –

अध्यक्ष : विजय सागर योन्जन
उपाध्यक्षहरू : कुमार तामाङ थिङ तामाङ, दिपक थिङ तामाङ
महिला उपाध्यक्ष : शान्ता तामाङ
सचिव : मिलन थिङ तामाङ
सह-सचिव : सुजन योन्जन
कोषाध्यक्ष : पारू लामा
सह-कोषाध्यक्ष : प्रभात बोम्जन लामा
सदस्यहरू : अनिता तामाङ लामा, विशाल लामा तामाङ, भुवन तामाङ, विजय रुम्बा तामाङ, राजेन्द्र तामाङ, मिना मोक्तान तामाङ, प्रताप तामाङ, पञ्चलाल तामाङ

नयाँ समितिले प्रवासमा रहेका तामाङ समुदायबीच आपसी एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
अध्यक्ष विजय सागर योन्जनले अधिवेशनपश्चात् मन्तव्य दिंदै, “संगठन सुदृढीकरण र तामाङ जातिको मौलिकता जोगाउँदै जापानभरि छरिएर रहेका समुदायबीच एकता कायम गर्न यो समितिले निस्वार्थ भावनाले कार्य गर्नेछ,” भन्ने दृढता व्यक्त गरे।

उक्त अवसरमा वक्ताहरूले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज जोगाउने सन्देशसहित, भावी पुस्तालाई सही मार्गमा डोहोर्याउने खाँचो औँल्याएका थिए।
कार्यक्रममा तामाङ परम्परागत पहिरन र भेषभूषामा सजिएर सहभागिता जनाएका समुदाय सदस्यहरूले जातीय गौरव र आत्माभिमान प्रकट गरेका थिए।

सिजुओकामा सम्पन्न यो अधिवेशनले प्रवासमा रहेका तामाङ समुदायको मनोबल उच्च बनाएको छ।
साथै, यो अधिवेशन जापानको अन्य क्षेत्रहरूमा पनि संगठन विस्तारको प्रेरणादायी प्रारम्भको रूपमा हेरिएको छ।
नेपाल तामाङ समाज, जापान केन्द्रको संयोजनमा सिजुओकाबाट आरम्भ भएको संगठनात्मक अभियानले सम्पूर्ण जापानभर तामाङ समुदायलाई संगठित, जागरुक र संस्कारप्रति समर्पित बनाउने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।