तेमाल- भूमि समस्या समाधान आयोग, काभ्रेपलाञ्चोकले तेमाल गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशनपश्चात जनचेतनामूलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तेमाल गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम पालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ र विभिन्न वडाका अध्यक्षहरु वडा सचिवहरू तथा पालिकामा कार्यरत कर्मचारीहरूको सहभागीतामा  सम्पन्न भएको हो ।

यसैबीच सो कार्यक्रममा आयोगका अध्यक्ष बिदुर प्रसाद हुमागाई, बिज्ञ सदस्य ईश्वरी ओझा, सदस्यहरु बबिता बोहरा र रेनुका तामाङको उपस्तिथि थियो । कार्यक्रममा हालसालै ३५ दिने सार्वजनिक सूचना प्रकाशनपश्चात ती वर्गका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने र उनीहरूलाई आवश्यक प्रक्रिया, दस्तावेज र निवेदन बुझाउने तरिका सम्बन्धमा स्पष्ट जानकारी गराइएको थियो ।

प्रशिक्षण तथा अन्तर्क्रिया सत्रमा भूमि समस्या समाधान आयोगका प्रतिनिधिहरूद्वारा कार्यक्रमको उद्देश्य, प्रक्रिया, सरकारको नीति तथा आयोगको कार्यविधि बारे जानकारी गराइएको थियो। सहभागीहरूमध्ये वडा सचिव, जनप्रतिनिधि तथा कर्मचारीहरूले फर्म भराउने, कागजात संकलन, प्रमाणिकरण लगायतका कार्यको प्रभावकारी व्यवस्थापनमा छलफल गरेका थिए।

कार्यक्रममा बोल्दै पालिका  अध्यक्ष तामाङले भूमिहीन र सुकुम्बासीको जीवनस्तर उठाउनु हाम्रो साझा जिम्मेवारी भएको बताउँदै यो अभियानलाई सफल बनाउन पालिका स्तरमा आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमप्रति आभार प्रकट गर्दै तेमाल गाउँपालिकालाई भूमि समस्या समाधान आयोग काभ्रेपलाञ्चोकले स्वागत तथा धन्यवाद व्यक्त गरेको छ । आयोगले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय तहसँगको समन्वयमा भूमिहीन तथा सुकुम्बासी समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।