धुलिखेल- काभ्रे जिल्ला राेशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अशोककुमार गाैतम पूर्पक्षको लागि जेल चलान भएका छन् ।  रोशी खोलाको क्षतिग्रस्त पुलका पाटपुर्जा बिक्री गर्न खोजिएको घटनामा पक्राउ परेका गौतमलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ र रमेश तामाङ तथा कबाडी संकलकहरू मन्टुकुमार र जितेन्द्र पासवानलाई प्रहरीले गत १२ जेठमा पक्राउ गरेको थियो।

अदालतले वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने कवाडी व्यवसायीका कर्मचारी जितेन्द्र पासवानसँग २० हजार रुपैयाँ धरौटी माग भएको जिल्ला अदालतका स्रेस्तेदार राईले बताए । समान सहित समातिएका टिपरका चालकहरूलाई भने सरकारी वकिल कार्यालयले नै तारेखमा छाडेको छ ।

गौतम माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष टिका बहादुर के.सी.को पनि संलग्नता देखिए पनि उनी भने फरार रहेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् भने नगरपालिकाको प्रवक्ता समेत हुन् । अनुसन्धानका लागि माओवादी केन्द्रले सहयोग गरको नेताहरु बताएका छन् । तर काँग्रेसले भने सो घट्नामा स‌ंलग्न केसीलाई जोगाउन खोजिएकाे आराेप लगाएका छन् । सरकार आफ्नो पार्टीको नेतृत्वमा रहेकोले सरकार नै उनलाई जोगाउन लागेकाे स्पष्ट हुन थालेको छ । जिल्ला र केन्द्रीय स्तरको नेताहरुकै संरक्षणमा रहेको स्रोतले बताएका छन् ।

असोजमा रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका वडा न ७ रघुचौरको झुलुङ्गे पुल बगाएको थियो । त्यस्तै रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने पक्की पुल समेत बगाएको थियो । उक्त बगाएको पुल रोशी–७ का वडा अध्यक्ष अशोक कुमार गौतमले कवाडीलाइ बेचेको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।