धुलिखेल- काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ । नगरको सत्रौं नगर सभाले आज सो बजेट ल्याएको हाे ।

सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो । नगर प्रमुख ब्याञ्जुले प्रस्तु गरेको नीति तथा कार्यक्रम र बजेटमा कुल विनियोजन मध्ये चालु खर्च तर्फ ८० करोड ४ लाख ११ हजार अर्थात ६७ दशमलव ५५ प्रतिशत, पूँजिगत खर्च तर्फ ३६ करोड ८६ लाख ६९ हजार अर्थात ३१ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १ करोड ५७ लाख ७० हजार अर्थात १ दशमलव ३३ रहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, गरिबी नियन्त्रण लगायतका विषय प्राथमिकतामा राखेको बताए । विश्व स्वास्थ्य संगठनद्धारा प्राप्त स्वास्थ्य शहर धुलिखेल नगर अवार्ड–२०२४ लाई दिगो र निरन्तरता दिन संघ तथा प्रदेश सरकार, अन्तराष्ट्रिय एवं राष्ट्रिय साझेदार संघ संस्थासँग समन्वय र सहकार्य गर्ने उनले बताएका छन् । यस्तै काभ्रे भञ्ज्याङमा रक्तसञ्चार केन्द्र स्थापना सहित नगर अस्पतालाई धुलिखेल किड्नी सेन्टरका रुपमा विकास गरिने नगर प्रमुख ब्याञ्जुले बताए ।

ल्याउ, टिकाउ र सिकाउको नीति अनुरुप विद्यालय उमेर समुहका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय भर्ना गराई आधारभुत तहका बालबालिकाहरुको विद्यालय छाड्ने दर घटाउने र पाठ्यक्रमले निर्धारण गरे अनुसारको सिकाई उपलब्धि वृद्धि गर्दै लैजाने नीति नगरपालिकाले लिएको छ । एक वडा, एक डिजिटल विद्यालय सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक वर्ष २०८३/८४ भित्र एक घर एक धारा नीति शतप्रतिशत घरधुरीमा विस्तार गरिनेछ । नगरपालिकालाई सुरक्षित खानेपानी भएको शहरको रुपमा विकास गर्न खानेपानीको डिजिटल तथ्यांक व्यवस्थापन गर्न एन–वास कार्यक्रम लागू गर्ने नगरपालिकाको नीति छ । एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न अधिकतम पहल गरिने, स्मार्ट सिटीको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने नगर प्रमुख ब्याञ्जुले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।